अपाङ्गता दिवसका अवसरमा सहयोग एवं सम्मान


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर १९, २०७७

  • काठमाडौँ, १९ मङ्सिर । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरका अवसरमा अपाङ्गता भएका व्यक्ति तथा त्यस क्षेत्रमा काम गर्ने संस्थालाई सम्मान एवं सहयोग गरिएको छ । मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका पाँच जनालाई रु १५ हजार नगद सहयोग प्रदान गरेको छ । समाजका सभापति उत्तम पुडासैनीसहित पदाधिकारीले बिहीबार बौद्धमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

    यसअघि २० नोभेम्बरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर समाजले असहाय बालबालिकाको संरक्षणका लागि कार्यरत सुनौलो पाइला परिवार काठमाडौँलाई रु १५ हजार नगद सहयोग प्रदान गरेको थियो । यसैगरी शान्ति समाजको दाङ शाखाले पनि अपाङ्गता दिवसकै अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा अपाङ्गता भएकाको अधिकारका लागि समर्पित रोशन गिरीलाई सम्मान गरेको छ । दिवसकै अवसरमा समाज रुपन्देही शाखाले बुटवल उपमहानगरपालिका–१५ स्थित लुम्बिनी अपाङ्ग दुष्टिविहीन अनाथ आश्रमलाई सेतो छडी, खाद्यान्न÷तरकारी सहयोग प्रदान गरेको छ ।

    समाजका तर्फबाट केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पङ्गेनी, शाखा सभापति धनपति खनाल (डिपी), सहसचिव कपिल ज्ञवाली, कोषाध्यक्ष कृष्ण भट्टराईसहितको टोलीले सहयोग हस्तान्तरण गरेको जनाइएको छ । दिवसकै दिन शान्ति समाज दाङ शाखाले केही असहाय बालबालिकालाई सहयोगस्वरुप खाद्यान्न, शैक्षिक सामग्रीस्वरुप पुस्तक र केही नगद सहयोग प्रदान गरेको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसँग रहेको ३०० र समाजसँग रहेका १०० गरी ४०० पुस्तक कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरिएको छ ।

    पहाडीले यसअघि आफूसँग रहेका दर्जनौँ वस्त्र केही सामाजिक संस्थालाई प्रदान गरिसक्नुभएको जनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मङ्सिर २५ गते मध्याह्न १२ बजे समाजले आणविक हतियार निषेध सन्धिलाई शीघ्र अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको आह्वानसहित काठमाडौँस्थित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, उत्तरकोरिया र इजरायलका राजदूतावास अगाडि एकसाथ प्रदर्शन गर्ने तयारी गरेको सभापति पुडासैनीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार