आईपीएल : सनराइजर्सलाई हराउँदै दिल्ली दोस्रो क्वालिफायरमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख २६, २०७६

  • काठमाडौं, २६  वैशाख ।   नेपाली बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हरायो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । उसका लागि मार्टिन गप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन थपे । यस्तै मोहम्मद नावीले २० रन बनाए ।

    नेपाली बलर सन्दीप लामिछानेबिना नै मैदानमा उत्रिएको दिल्लीका लागि बलिङमा कीमो पउलले तीन तथा इसान्त शर्माले दुई विकेट लिए । जवाफमा दिल्लीले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

    निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप ४ विकेट खेर फाल्यो । त्यसमा पनि अफगानिस्तानी बलर रासिद खानले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा हैदरावादले दबाब दिएको थियो ।

    दिल्लीका लागि पृथ्वी शले ५६ रन बनाउँदा शिखर धवनले १७ तथा कोलिन मुर्नोले १४ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले खाता खोल्न सकेनन् भने कप्तान श्रेयस अय्यरले ८ रनमात्र बनाए ।

    एक समय दिल्लीका लागि २१ बलमा ४१ रन चाहिएकोमा ऋषभ पन्तले बसिल थप्मीको ओभरमा २१ रन प्रहार गर्दै टिमलाई खेलमा फर्काए । उनले थम्पीको ओभरमा दुई चौका र दुई छक्का प्रहार गरे । तर पन्त २१ बलमा ४९ रन बनाउँदै आउट भए । जसमा दुई चौका र ५ छक्का सामेल थियो ।

    अन्तिम तीन बलमा दुई रन चाहिएको अवस्थामा दिल्लीले अर्को विकेट गुमायो । अमित मिश्रा क्रिकेटमा विरलै प्रयोग हुने अब्सट्रक्टिङको नियमका आधारमा आउट भए । तर अन्तिममा कीमो पउलले चौका प्रहार गरेर टिमलाई जित दिलाए ।

    अब दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा चेन्नईसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार