आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ५, २०७७

  • आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको  आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । खुलेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको होटल असोज १ गतेदेखि खुल्न शुरु भएका हुन् । रेष्टुराँमा बसेर खान पाइँदैन भने जोरबिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाइन्छ ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताउनुभयो । उनले भने, ‘आजदेखि आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेकाले आश जगाएको छ ।’ असोज ७ गतेपछि क्रमशः पर्यटक आउन शुरु गर्ने अनुमान उनको छ । ठाउँ-ठाउँबाट आन्तरिक पर्यटकले फोन गरिरहेकाले दशैँ अगाडिसम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उहाँको अनुमान छ । होटल बन्द भएपछि भएको फोहर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्तीमध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उनले जानकारी दिए ।

    सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जङ्गल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोन आइरहेको घिमिरेले जानकारी दिए । घरमा बस्दाबस्दा दिक्क भएका र काम विशेषले आउनु परेका सौराहा आउने गरेको उनको भनाइ छ । उनले भने, ‘क्रमशः पर्यटकको सङ्ख्या बढ्दै जान्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी भने दशैँ अघि होटल खोल्ने मनस्थितिमा हुनुहुन्न । उनले भने, ‘ठूलो समूह आएमा व्यवस्थापन गर्ने भए पनि दशैँ अघि होटल खोल्ने मनस्थितिमा म छैन ।’ खर्च बढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । सौराहामा रहेका रेस्टुराँमा सरसफाइ र तयारी थालिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यही असोज ७ गतेपछि खोल्नका लागि सबैले तयारी शुरु गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि शुरु भएसँगै पर्यटक बढ्ने उनको अनुमान छ ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश आजदेखि खोलिएको बताउनुभयो । सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढाएर घुमाउने गरिन्छ । ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराइन्छ । बरालका अनुसार निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै बाटो मर्मत गरेर जीप सफारीको अनुमति दिने उहाँले जानकारी दिनुभयो ।

    चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेदेखि पुनःबन्द भएका थिए । सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार