इन्स्टाग्राम पोष्टले यस्तो बबाल


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख १७, २०७६

  • काठमाडौं, १७ वैशाख ।  सामाजिक संजालको कारण आजकल आफ्नो कुराहरु सार्वजनिक गर्न सजिलो भएको छ । विशेषगरी सेलिब्रेटीहरुलाई पछ्याउनेहरुको संख्या पनि ठुलो हुने भएकाले आफ्नो बारेमा कतिपय विषय सार्वजनिक गर्नको लागि सामाजिक संजाल सहज उपाय बन्ने गरेको छ ।

    यतिका बावजुद कुनै बेला गलत पोष्ट वा शब्दको कारण चाहिं यहि फाइदा उल्टिएर टाउको दुखाइको विषय हुने गरेको छ । पछिल्लो समय अष्ट्रेलियाली क्रिकेटर जेम्स फल्कनरको यस्तै पोष्टको कारण बबाल मच्चिएको छ ।

    सोमबार जेम्सले आफ्नो २९ औं जन्मदिन मनाउँदै गरेको फोटो इन्स्टाग्राम मार्फत् सार्वजनिक गरेका थिए । यस क्रममा आफ्नी आमा रोज्लीन क्यारोल र ‘ब्वाइफ्रेन्ड’ रोब जुबका साथ जन्मदीन मनाउँदै भन्दै फोटो सार्वजनिक गरेपछि उनी समस्यामा परेका हुन् । उनले रोबसँग पछिल्लो पाँच वर्ष देखि एकैसाथ भनेर पनि उल्लेख गरेका थिए ।

    उनको उक्त पोष्टमा उल्लेखीत विवरणका आधारमा उनी समलिङ्गी भएको भन्दै मिडियाहरुले समाचार बनाएपछि क्रिकेट अष्ट्रेलियाले पनि यसमा चासो दिएको थियो ।

    मिडियाहरुले उक्त विषयमा समाचार बनाएसँगै यसको चर्चा चुलिएपछि जेम्सले आफ्नो इन्स्टाको पोष्टलाई सम्पादन गर्दै ‘ब्वाइफ्रेन्ड’ लाई परिवर्तन गर्दै ‘बेष्टफ्रेन्ड’ बनाएका थिए ।

    उनको उक्त पोष्ट बाहिरिएसँगै उनलाई समलिङ्गी भएकोमा धेरैले समर्थन गरेका थिए । समर्थनका बावजुद उनी विवादको घेरामा पनि पर्दै गएका थिए ।

    मंगलबार उनले पुनः एउटा पोष्ट मार्फत् उक्त विषयलाई स्पष्ट पारेका थिए । उनले आफ्नो उक्त पोष्टलाई गलत बुझिएको भनेका छन् । उनले आफु ‘गे’ नभएको र रोब जुब आफ्नो राम्रा साथी मात्र भएको उल्लेख गरेका छन् । आफुलाई समलिङ्गी सम्झेर आएको समर्थनको लागि उनले धन्यवाद पनि दिएका छन् ।

    जेम्सको यस्तो नयाँ पोष्ट आएसँगै क्रिकेट अष्ट्रेलियाले जेम्सको पहिलो इन्स्टा पोष्टको कारण सिर्जना भएको ‘असोचनीय अपमान’ को लागि माफी मागेको छ ।

    उनको उक्त पोष्टको कारण क्रिकेट अष्ट्रेलियाले उनलाई स्पष्टीकरण नसोधेको र उनको पछिल्लो पोष्टले दुई बिचको सम्बन्ध साथीको मात्र भनेकाले यसलाई अन्यथा भन्नुपर्ने कुनै कारण नदेखिएको पनि क्रिकेट अष्ट्रेलियाले विज्ञप्ती मार्फत् भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार