कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस ४, २०७७

  • कर्णाली, ४ पुस । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् । अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमना २१० जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १८० पुगेको मन्त्रालयको जनस्वास्थ शाखा प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । “पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सल्यानका पाँच, सुर्खेत र दैलेखका तीन/तीन र रुकुमपश्चिमका एक जना छन्”, प्रमुख कँडेलले भन्नुभयो, “पछिल्लो २४ घण्टामा नौ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।”

    योसँगै यस प्रदेशमा उपचारपछि निको हुनेको सङ्ख्या छ हजार ७३४ पुगेको शाखा प्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार कर्णालीमा हालसम्म ९५ हजार १४ जनाको पिसिआर परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कर्णालीमा २२ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार