काठमाडौं, १५ बैशाख । शङ्खमूल बस्दै आउनुभएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिर्नुभयो । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएकी उहाँलाई खानै धौधौ परेको थियो । काठमाडौंको बसाइ कठिन भएपछि उहाँ गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै हुनुहुन्थ्यो ।
घरबेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उहाँले बताउनुभयो । “घर गएपछि फर्किने हो कि होइन भनेर भाडा तिरेर मात्रै जान दिए”, सन्तानसहित घर फर्कने गाडी कुर्दै लोकन्थलीमा भेटिनुभएकी तामाङले भन्नुभयो, “एक जना दाजुसँग उधारो मागेर भाडा तिरेर घर जाँदैछु ।” गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले घरभाडा नलिन अनुरोध गर्ने निर्णय गरेको थियो ।
बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो । कोभिड–१९ का कारण प्रभावितलाई राहत दिन सरकारले सो निर्णय गरे पनि यो कार्यान्वयन भने थोरै मात्रै भएको छ । कतिपय घरबेटीले सामाजिक सञ्जालमार्फत नै आफूले भाडा नलिने उद्घोष गरिरहे पनि अधिकांश घरमा भने बहालमा बस्नेले भाडा तिरिसकेका छन् । कतिपयले अग्रिम भाडा तिर्ने गरेकाले वैशाख महिनाको समेत भाडा तिरिसकेका छन् ।
अच्चमको कुरा त सरकारी उच्च तहका कर्मचारी नै धमाधम भाडा असुल्न लागेका छन् । महिना दिनसम्म घरबाट ननिस्केका ती कर्मचारी श्रमजीवी र दैनिक ज्यालादारी मजदुरसँग भाडा लिइरहेका हुन् । ‘लकडाउन’ का समयमा नियमित काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसमेत आफूले भाडा तिरेर पनि बस्न कठिन भएको बताउँछन् ।
कोभिड–१९ को सङ्क्रमण फैलिने भन्दै घरबेटीले नराम्रो व्यवहार गरेको धेरैले बताएका छन् । आफूलाई चार पटकसम्म ताकेता गरेपछि भाडा बुझाएको नाम नबताउने सर्तमा एक सञ्चारकर्मीले बताए । अहिले भन्नासाथ कोठा खोजेर पनि नपाइने हुँदा बुझाउन बाध्य भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको समयमा भाडामा किचकिच गर्नुभन्दा चुप लागेर काम गर्नु नै ठीक हो ।” अहिले झण्डै १० प्रतिशत घरबेटीले मात्रै आफ्ना घरमा बस्नेलाई छुट दिएको पाइएको डेरावाल मञ्चका अध्यक्ष रामकृष्ण शर्माले बताउनुभयो । उहाँका अनुसार धेरै घरभेटीले आफ्नो आम्दानीको अरु स्रोत नभएको वा आफूलाई पनि गाह्रो पर्ने भन्दै छुट दिन मानेका छैनन् ।
सरकारले कम्तीमा ‘लकडाउन’ का कारण रोजगारी गुमाएका व्यक्तिलाई छुट दिन निर्देशन दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले मजदुर, विद्यार्थी र नियमित तलब नभएकालाई भाडा छुट गर्नुपर्छ भन्ने हाम्रो माग हो ।” सरकारले अहिले भाडा छुटका लागि अनुरोध मात्रै गरेकाले पनि कार्यान्वयन हुन नसकेको अध्यक्ष शर्माले बताउनुभयो । सरकारले निर्देशिका नै बनाएर निर्देशन दिएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । सबै बहालमा बस्ने व्यक्तिलाई छुट आवश्यक नपर्न सक्ने उहाँले बताउनुभयो । वार्षिक यतिसम्म आम्दानी भएकालाई छुट दिइने भनी निर्णय गरेर सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कतिपय उच्च ओहोदामा बस्ने र नियमित तलब आउनेलाई समस्या नपरे पनि भाडा छुट नहुँदा उपत्यकामा धेरैलाई समस्या परेको छ ।” काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सरकारले निर्णय गरे पनि स्थानीय तहलाई कार्यान्वयनका लागि निर्देशन नदिएको बताउनुभयो । अहिलेसम्म घरभेटी र बहालमा बस्ने दुईबीचको समझदारीमा नै भाडा लिने÷नलिने निर्णय भइरहेको उहाँले बताउनुभयो ।