किन दिए ओलीले मोदीलाई रुद्राक्षको माला?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दिनअघि बजेट सार्वजनिक गर्दै अबदेखि सरकारले दिने उपहारमा स्वदेशी उत्पादनका सामग्री अनिवार्य गरिएको घोषणा गरे। स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सरकारको चाहना अर्थमन्त्रीको घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा गरेका छन्।

    भारतमा दोस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई बधाइ दिन ओली बिहीबार भारत पुगेका थिए। उनले मोदीलाई रुद्राक्ष माला उपहार दिएर सरकारी नियम कार्यान्वयनमा ल्याएका छन्।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्विट गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाली जनताका तर्फबाट सफलताको शुभकामनासहित रुद्राक्ष माला उपहार दिएको उल्लेख गरेका छन्।

    उपहारमा रुद्राक्ष नै किन?

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उपहारमा रुद्राक्ष माला दिनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल नै भएको थियो। मित्रता घनिष्ट बनाउने प्रतीकका साथै नेपालकै उत्पादन भएकाले प्रचार हुने हिसाबले रुद्राक्ष रोजिएको अर्यालले बताए।

    ‘मित्रराष्ट्र भारत र चीन दुवै देशका लागि रुद्राक्षको स्रोत नेपाल हो,’ अर्यालले भने, ‘भोजपुर, संखुवासभाजस्ता पहाडी जिल्लामा राम्ररी रुद्राक्ष उत्पादन हुन्छ। हामीले भारत र चीनमा रुद्राक्ष निर्यात गर्दै आइरहेकै छौं।’ रुद्राक्ष मुख्यतया नेपालको मध्यपहाडी क्षेत्रमा पाइन्छ। रुद्राक्ष हिन्दु धर्मका देवता शिव र बौद्ध धर्मसँग पनि सम्बन्धित छ।

    यसकारण भारत र चीन दुवैमा यसको धार्मिक-साँस्कृतिक महत्व रहेको उनले बताए। ‘भारत र चीन दुवैमा धार्मिक-साँस्कृतिक रूपले पनि रुद्राक्षप्रति श्रद्धा छ,’ उनले भने, ‘यो उपहारले एकअर्काप्रति श्रद्धा र निकटता देखाउँछ।’

    विदेशी पाहुनालाई प्रायः स्वदेशमै उत्पादन भएका सामग्री ‘मायाको चिनो’का रूपमा उपहार दिने गरिएको छ। ‘विदेशी पाहुना वा विदाइ भएर जाने राजदूतहरूलाई पनि काठमा कुँदिएका गैंडा, बुद्ध, पानसलगायत स्वदेशी सामग्री उपहार दिने गरिएको छ,’ अर्यालले भने। प्रधानमन्त्री ओलीले हालै भियतनाम जाँदा काठमा कुँदिएको बुद्धको चित्र र राष्ट्रपति विद्यादेवी भण्डारीले चीन जाँदा बुद्धको चित्र उपहार लगेको पनि अर्यालले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार