के बेलले जिदानको मन जित्न नसकेका हुन् त ?


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ ।  ग्यारेथ बेलको रियल मड्रिड समय अन्त्यतिर पुगेको छ । प्रशिक्षक जिनेदिने जिदानले बेललाई आउँदो सिजन क्लबमा देख्न नचाहनु बेलका लागि मुख्य समस्या हो । हुन त बेल र जिदानले रियल मड्रिडका लागि सँगै धेरै जितेका छन्, तर त्यसको प्रभाव जिदानमाथि पर्न सकेको छैन ।

    बेल र जिदानको सम्बन्ध एक्कासी बिग्रिएको होइन । दिन बित्दै जाँदा अहिले रियल मड्रिड बेञ्चमा समेत ठाउँ नपाउने अवस्थामा पुगेका बेलले जिदानको मन किन जित्न सकेनन् त ?

    यसलाई बुझ्न २०१८ को च्याम्पियन्स लिग फाइनल खेलमा पुग्नुपर्ने हुन्छ । त्यसबेला लिभरपुलसँगको खेलको ६१ औँ मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए । त्यसअघि १–१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४ औँ र ८३ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई ३–१ ले उपाधि जिताए ।

    उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो । यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरे । आफ्नो भविष्यको बारेमा प्रश्न गरे । जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो । त्यसमा जिदानले अझ बल पाए ।

    क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो । तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेनन् ।

    रियल मड्रिड प्रशंसकले बनेको क्लब पनि हो । बेलमाथिको धारणा बुझ्दा मड्रिड प्रशंसक के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ । अहिले बेलमाथिको वेवास्ता यति हाबी भइसकेको छ कि उनी हुनु र नहुनुमा प्रशंसक समेत तथस्ट देखिन्छन् । कतिपय उनको आवश्यकता देख्दैनन् भने कतिपय खुलेर केही बताउँदैनन् ।

    अहिले नयाँ सिजनको तयारी खेलमा अमेरिका रहेको रियल मड्रिड टिममा पनि बेल देखिएका छैनन् । बार्यन म्युनिखसँग ३–१ ले हारेको खेलमा बेलको अनुपस्थिति उनलाई क्लब छोडाउन खोजिएको प्रष्ट संकेत हो । खेलपछि त प्रशिक्षक जिदानले सिधा सिधै भनिदिए, ‘हामीलाई आश छ उनले छिटै क्लब छाड्ने छन् । यो सबैका लागि राम्रो हुने छ ।’

    सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ । उनले मड्रिडका लागि चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन् ।

    २०१३ मा टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना उतिबेलै जिदानलाई मन परेको थिएन । पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन । बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे ।

    रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने समेत छायामा परिरहेको छ । उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेको छ ।

    चाइनिज सुपर लिग क्लब बेइजिङ गोएनले त हप्ताकै एक मिलियन पाउण्ड दिन तयार भइरहेको छ । यदि यसलाई स्वीकार गरेर बेल चीन आएमा उनी सर्वाधिक कमाउने फुटबलर बन्ने छन् । तर बेलको सोच पैसा कमाउनेमा भन्दा बढी आफूलाई प्रमाणित गर्नेमा देखिन्छ । रियल मड्रिडले राख्न नचाहनुले उनी बाहिरिए पनि खुशी भने हुने छैनन् ।

    ‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ जिदानले बेलको सम्बन्धमा यस्तो बताए पनि उनले क्लबको भविष्यसँग मात्रै बेलको खेललाई जोडेको जस्तो भने देखिँदैन । किनभने मैदानमा खेल देखाउँदा नै पनि उनी बेलका प्रशंसक थिएनन् ।

    बेल भर्सेस जिदानको धारणामा दुई भिन्न कोणबाट खबरहरु आइरहेका छन् । बेलायती सञ्चार माध्यममा बेलको भविष्यमा जिदानको खेलवाड जोडिएका छन् भने स्पेनिस मिडियामा कमजोर बन्दै गएको बेलको भूमिका बलियो रुपमा प्रस्तुत गरिएका छन् । यसमा मध्यमा रहेर हेर्ने हो भने दुवैबीच सन्तुलन देख्न सकिन्छ । बेललाई नचाहने जिदानको स्वभाव त देखिएकै छ तर विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुष्ट हुन मिल्ने छैन ।

    उपाधिकै हिसाबले हेर्ने हो भने त खेलाडीका रुपमा जिदानले रियल मड्रिडलाई जति दिलाएका छन् त्योभन्दा बढी बेलले जिताएका छन् । मड्रिडबाटट २ सय ३१ खेल खेलेका बेलले १३ उपाधि जिताएका छन् भने २ सय २७ खेल खेलेका जिदानले ६ उपाधि जिताएका थिए । जसमा बेलले १ सय २ गोल गरेका छन् भने जिदानले ४९ गोल गरेका छन् ।

    सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए । त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए । वेल्स राष्ट्रिय टिमबाट खेल्ने उनले इंल्याण्डमा देखाएको भन्दा माथिल्लो स्तरकै खेल स्पेनमा देखाएका हुन् । तर उनी न त जिदानले जस्तो भावनात्मक प्रभाव पार्न सफल रहे न त रोनाल्डोले जस्तो खेल प्रभाव ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार