‘कोपा डेल रे को उपाधि भ्यालेन्सियाले जित्छ’ : मोरिएन्टेस


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १०, २०७६

  • काठमाडौं, चैत १० । शनिबार स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे मा उपाधि भिडन्त हुँदैछ । यसपटक उपाधिका लागि साबिक विजेता बार्सिलोना र भ्यालेन्सिया भिड्दैछन् ।

    सो प्रतियोगिताअघि भ्यालेन्सियाका पूर्वफरवार्ड फर्नान्डिनो मोरिएन्टेसले यो बताएका छन् कि, यसपटक पनि यो उपाधिका लागि बार्सिलोना प्रमुख दाबेदार हो । उनले स्वभावैले बार्सिलोना उपाधिका लागि बलियो दाबेदार रहेने बताए ।

    मोरिएन्टेस उनै खेलाडी हुन्, जसले सन् २००८ मा भ्यालेन्सियाले गेटाफेलाई ३–१ ले हराएर उपाधि जित्दा उनी पनि टिमका खेलाडी थिए । त्यसबेला उनले पनि टिमको जितमा १ गोल गरेका थिए ।

    ‘म यस खेलमा भ्यालेन्सियालाई समर्थन गर्नेछु । उनीहरूले जित्नेमा म आशा राख्छु । तर, बार्सिलोना बलियो टिम हो भन्ने मलाई थाहा छ,’ मोरिएन्टेसले भने ।

    तर, मोरिएन्टेसले यो बताएका छन् कि, यतिबेला बार्सिलोनाभन्दा भ्यालेन्सिया उच्च मनोबलमा छ । ‘यतिबेला भ्यलोन्सिया उच्च लय र मनोबलमा छ । उनीहरूले बार्सिलोनाविरुद्ध उनीहरूको कमजोर मानसिकताको फाइदा उठाउन उक्छन् ।’

    मोरिएन्टेसले बार्सिलोनासँग विश्वकै उत्कृष्ट खेलाडी भएको उल्लेख गर्दै उनीहरू जितको हकदार हुने बताए । ‘उनीहरूसँग मेस्सीजस्ता खेलाडी छन्, जसलाई रोक्न लगभग कठिन छ । तर, बार्सिलोनाले सधैं उत्कृष्ट खेल्न सक्दैन,’ उनले भने, ‘उनीहरू यतिबेला लयमा छैनन्, जुन लय र गतिमा भ्यालेन्सिया छ ।’

    बार्सिलोना जारी सिजन ला लिगाको च्याम्पियन टोली हो । च्याम्पियन्स लिगबाट आउट भएपछि उसले ला लिगाको अन्तिम खेल एयबारसँग २–२ को बराबरी खेलेको थियो ।

    भ्यालेन्सियाले भने यो सिजन उत्कृष्ट पुनरागमन गर्दै आफूलाई लिगको टप–४ मा राखेर अर्को सिजन च्याम्पियन्स लिगका लागि सुरक्षित गरेको छ । ला लिगामा लिगको चौथो साताको खेल सकिँदा १७औं स्थानमा रहेको उसले ३८औं खेल सकिँदा आफूलाई चौथो स्थानमा कमब्याक गराएर सिजन पूरा गरेको थियो ।

    यतिबेला बार्सिलोना मानसिक रूपमा शिथिल अवस्थामा रहेको र भ्यालेन्सिया उत्साहित रहेकाले यस खेलमा भ्यालेन्सियाले बार्सिलोनालई कडा टक्कर दिने धेरैको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार