कोरोनाका बिरामीलाई कोरोना अस्पतालमै उपचार गरिने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ ३, २०७७

  • चितवन, ३ जेठ । कोरोना आशङ्का गरिएका र पुष्टि भएर पनि सामान्य लक्षणमात्र देखिएका बिरामीलाई यहाँको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गरिने भएको छ । भरतपुर अस्पतालमा त्यस्ता बिरामी राख्दा अन्य बिरामीलाई समस्या पर्न सक्ने भएकाले पहिलो तहका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न लागिएको हो । भरतपुर अस्पताल मातहतमा भरतपुर कोरोना विशेष अस्पताल र भरतपुर कोभिड–१९ प्रयोगशाला रहेका छन् ।

     

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । तह दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको तिवारी बताउनुहुन्छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई पहिलो तहको अस्पतालमा उपचार गर्न सकिने उहाँले बताउनुभयो । तिवारीले यसअघि पहिलो तहमा राख्नुपर्ने दुई सङ्क्रमितलाई भरतपुर अस्पतलामा लगिएको भए पनि अब त्यसो नगरिने बताउनुभयो । कोरोना अस्थायी अस्पतालमा ५० साधारण श्यया छन् ।

     

    त्यही १०÷१० श्ययाका एचडीयू र सघन उपचारकक्ष पनि रहेका छन् । कोरोनाकै बिरामीलाई उपचार गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको अगुवाइमा सो अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । हालसम्म कोरोना अस्पतालमा ६०१ जनाको उपचार गरिसकिएको छ । यही चैत ७ गते अस्पताल स्थापना भएको हो । कोरोना रोकथामका लागि भरतपुर अस्पतालको मातहतमा चैत २३ गतेबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म ७४५ को पिसीआर परीक्षण गरिएको छ । अस्पतालको प्रयोगशालामा सबैभन्दा बढी परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँको प्रयोगशाला स्थापना हुनुअघि र किट अभाव हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु र प्रदेश प्रयोगशाला हेटाँैडा पठाउने गरिएको छ ।

     

    कोरोनाका लागि निर्माण गरिएकाले अस्पतालमा आवश्यक पर्ने सबै प्रबन्ध मिलाइएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । कोरोना आशङ्का भएका र कोरोना पुष्टि भइ सामान्य अवस्थामा रहेका बिरामीलाई कोरोना अस्पतालमा राख्दा भरतपुर अस्पताल अन्य बिरामीका लागि थप सुरक्षित हुने अधिकारीको भनाइ छ । सर्वसाधारणले निःशुल्क र न्यून शुल्कमा उपचार पाउने अस्पतालमा जटिल नभएसम्म कोरोनाका बिरामी नराखिने उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो, “अस्पताल आएर उपचार गर्नुपर्ने बिरामीका लागि भरतपुर अस्पताल पूर्णरूपमा सुरक्षित छ ।” अस्पतालले सकेसम्म सामाजिक दूरी कायम गरेर सबै बिरामीको उपचार गरिरहेको छ । भरतपुर अस्पतामा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

     

    सङ्घीय अस्पताल भएकाले यहाँ विशेषज्ञ चिकित्सकबाट सबैखालका उपचार हुने गर्दछन् । यस अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्र्रसूति गराउने गर्दछन् । प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूतिका बिरामीलाई छुट्टै भवनको व्यवस्था गरिएको छ । यो ६०० श्ययाको केन्द्रीय अस्पताल हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार