कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता बढाइयो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २४, २०७७

  • भोजपुर, २४ वैशाख । भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

     

    जिल्लामा सङ्क्रमित मानिस भित्रन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँका नौवटै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको हो । उत्तरी क्षेत्रबाट जिल्ला प्रवेश गर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका, पूर्वी क्षेत्रबाट प्रवेश गर्ने अरुण र पौवादुङमा गाउँपालिका, दक्षिणी क्षेत्रबाट प्रवेश गर्ने हतुवागढी र आमचोक गाउँपलिका र पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने टेम्केमैयुङ गाउँपालिकामा रहेका सम्पूर्ण नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको हो । त्यस्तै यसअघि जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बसेका मानिसमा पनि उच्च निगरानी बढाइएको छ ।

     

    जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा रहेका मानिस बसेका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेर उनीको अवस्थाका बारेमा समेत जानकारी लिँदै आएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । प्रजिअ पुरीले भन्नुभयो, “भोजपुर कोराना खतराको सूचीमा परेसँगै यहाँ सुरक्षा संवेदनशीलालाई ध्यानमा राख्दै उच्च सतर्कता अनाइएको छ, जिल्ला प्रवेश गर्ने सबै स्थानीय तहका नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।”

     

    हतुवागढी गाउँपालिका २६ वर्षीय युवकमा यही वैशाख ११ गते कारोना सङ्क्रमण पुष्टि भएसँगै अन्य क्षेत्रका क्वारेन्टाइनमा रहेका मानिसको पनि तीव्रगतिमा आरडिटी परीक्षण भइरहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा मङ्गलबारसम्म २८९ को आरडिटी परीक्षण गरिएको छ । कोरोना सङ्क्रमित युवाफेला परेकापछि उनको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्ति गरी २४ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

     

    जसमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य आठ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । जिल्लामा ५२१ क्वारेन्टाइन, १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ भने जसमा ३२० क्वारेन्टाइनमा र २८६ होम क्वारेन्टाइनमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार