कोरोनाबिरुद्धको सरकारी कोषमा गायक प्रकाश सपुतले गरे २ लाख रुपैंया सहयोग


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ११, २०७६

  • काठमाडौं । १० चैत । चर्चित गायक प्रकाश सपुतले कोरोना संक्रमणका विरुद्ध सरकारले स्थापना गरेको ५० करोड रुपैंयाको कोषमा २ लाख रुपैंयाको चेक प्रदान गरेका छन् । प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले सहयोगको घोषणा गरेका हुन् ।
    उनले लेखेको स्टाटस जस्ताको तस्तै :

    सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार
    विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सराहनिय छन् । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमज़ोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फ्रेन्स र शुक्रबार साझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको ज़िम्मेवारी बोध प्रति हामी कृतज्ञ छौं ।

    यद्यपि केहि दिन अगाडि स्वास्थ्य मन्त्री ज्युले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौं । अरु त सबै ठिकै छ । कोशिष राम्रो छ । किप ईंट् अप ।

    सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फ़ क्वारेन्टाईनमा बसेका छौं । दशैंमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौं । एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन् । तर, त्यो खुसी धेरै बेर रहन सकेन जब साझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो – “अब अनिश्चितकालीन बन्द भन्छन् । यसरी सबै परिवार भेला भएर बसी – बसी खान कहिले सम्म पुग्ने हो ? ” माहोल स्तब्ध भयो ।

    खाना खल्लो १ ९ बाबा लामो बैदेशिक रोज़गारपछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहालाई ढाडस दिएको थिए – बा, तपाई बुढो हुनु भो । अब बिदेश नजानुस् । म गर्छु । “ आमा गृहिणि हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया, कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउमै छन् । अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् । र, आफ्नो करिअरमा संघर्षरत छन् । मेरी एउटा छोरी छिन् ३ वर्षकी । पछिल्लो ५ र ६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ । म भने पेशाले म गीत संगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न । दर्शक स्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ ।

    खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामीसंग धेरै नगद मौज्दात रहेनछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो – सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसंग रहेछ । मैले आफुलाई भंयकर सम्पन्न भएको महशुस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिईन । आत्मसम्मान र सपनाको पछि लागे । यद्यपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फड्को मारेको हो हाम्रो पुर्खाको तुलनामा – बिन्दु जि लाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन ।
    तर, म निदाउन सकिन ।

    सम्माननीय प्रधान मन्त्री ज्यु,
    के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ ? हाम्रो जनतालाई भनेर के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यैबाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ । कम्पनी बन्द भएपछि कतै सेल्फ़ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्तादेखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन । काम ठप्पै भएपछि खल्तीमा डेढ दुई सय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महंगिएको पसल अगाडि गएर घण्टौ सोच्छ होला (यति पैसाले स्यानीटाईजर किनम कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुने साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ? साझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस् त प्रम ज्यु । के भन्दो रछ हजुरको मनले ?

    ल मानम परिस्थिति यस्तै भयो, आफुसंग हुदा सम्म खाने, नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रक़म बच्ने भयो करिब – २ लाख रुपैया । एउटा ज़िम्मेवार नागरिकका हैसियतले यो रक़म यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसको नाममा दिने निधो नभएपछि रक़म लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बाग्लुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यालय बाग्लुङमा पठाएको छु। यो रक़म सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २ जोर ग्लोब्स र एक जोर बलियो गाउन किन्न काम लागे पनि म खुसीले सेल्फ़ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाज़ी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दा र वालवालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडा एक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रक़म थोरै छ । तर, यस्तो परिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।

    ल मानम यो सबै परिस्थितीको सामना र ज़िम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गीत रेकर्ड गर्ने छु । र, बाकि रक़मले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उसले धेरै पढोस् र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रक़म नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस् । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।

    आफ्नो र हाम्रो ख़्याल राख्नु होला । धन्यवाद ।

    प्रकाश सपुत ।
    एक नागरिक र एक कलाकार ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार