कोरोना जोखिममा इपिएल


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन २२, २०७६

  • विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना (कोभिड–१९)को उच्च जोखिममा राखेको तथा सरकारले मानिसहरु भिडभाड हुने कार्यक्रमहरु नगर्न आह्वान गरेको सन्दर्भमा चैत्र १ बाट एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट हुँदैछ। इपीएलको चौथो संस्करणमा यो पटक विश्व चर्चित केही विदेशी खेलाडीहरु समेत सहभागी हुँदैछन्। यस कारण दर्शकको ठूलो सहभागिता हुने अपेक्षा छ। सरकारले देशभरका विद्यालयलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ। विद्यालयलाई वार्षिक कार्यक्रम र भेला आयोजना नगर्न भनेको छ।

    इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर प्रतियोगिता तोकिएकै समयमा हुने बताउँछन्।

    ‘प्रतियोगिता हामीले तोकेको समयमै हुन्छ,’ अख्तर नेपालखबरसँग भन्छन्, ‘क्रिकेटलाई मात्र टार्गेट गरियो भने पशुपति मन्दिरदेखि सबै बन्द गराउने अवस्थामा पु¥याउँछु। खेल्ने र खेलाउनेलाई समस्या छैन भने अरुलाई किन समस्या?’

    नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना(कोभिड–१९)जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा हुने सबै ठूला खेल प्रतियोगिताहरु रोक्ने तयारी गरिरहेको उपाध्यक्ष पिताम्बर तिम्सिना बताउँछन्।

    ‘सबै प्रतियोगिताहरु रोक्ने भनेका छौं। काठमाडौं बाहिर सुरु भएकालाई सकिहाल्न भनेका छौं’, उपाध्यक्ष तिम्सिनाले नेपालखबरसँग भने, ‘काठमाडौं उपत्यकामा भिडभाडलाई नियन्त्रण गर्न ठूलो गेम नगर्नुस् भन्ने सूचना जारी हुँदैछ। राखेपले केहीबेरमा विज्ञप्ति जारी गर्नेछ।’  अख्तर भने आफूले सरकारी निकायहरुसँग छलफल गरिसकेकोले प्रतियोगिता नरोकिने दाबी गर्छन्। ‘हामीले गृह मन्त्रालय, क्यान, राखेपसँग छलफल गरिसकेका छौं। प्रतियोगिता रोकिदैंन,’ उनी भन्छन्।

    गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी इपीएल आयोजकसँग कोरोना जोखिमबारे मन्त्रालयमा कुनै छलफल नभएको बताउँछन्।

    ‘मन्त्रालयको सह–प्रवक्ताको हैसियतले यहाँ हुने छलफलबारे मलाई जानकारी हुन्छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘गृहमा छलफल गर्न उहाँहरु आएको मेरो जानकारीमा छैन।’

    गृह मन्त्रालयले नीति तथा गैर सरकारी निकायबाट नेपालमा आयोजना हुन लागेका कार्यक्रम स्थगित गर्न सम्बन्धित आयोजक संस्थाहरुलाई आह्वान गरिसकेको छ। आन्तरिक बैठकहरु समेत रद्द गरिएका छन्।

    ‘हाम्रा आन्तरिक बैठकहरु पनि रद्द भइरहेका छन्। अन्तर्राष्ट्रिय सम्मेलनहरु रद्द गर्न आयोजकहरुलाई अनुरोध गरेका छौं,’ अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताका आयोजकलाई हामीले भिडभाड हुने कार्यक्रमहरु नगर्न अनुरोध गरेका छौं। स्थगित वा होल्ड गरिदिनुहोला भन्ने आह्वान गरेका छौं।’

    युवा तथा खेलकुद मन्त्रालय प्रवक्ता डा. मानबहादुर विके बिहीबार दिउँसो खेल संघ संस्थाबीच प्रतियोगिताहरु रोक्ने सम्बन्धमा छलफल हुन लागेको बताउँछन्। इपीएल प्रबन्ध निर्देशक अख्तर सरकारको आदेशको सम्मान गर्ने जनाउँदै प्रतियोगिता स्थलमा भाइरस स्क्यानर, हेल्थ डेक्स राख्ने बताउँछन्।

    नेपाल क्रिकेट संघ (क्यान) इपीएल आयोजकले कोरोना जोखिमसम्बन्धी आफूहरुसँग कुनै छलफल नगरेको बताउँछ।  क्यान महासचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘इपीएलले अहिलेसम्म हामीसँग कुनै छलफल गरेको छैन। कोरोना जोखिममा प्रतियोगिता आयोजना गर्ने नगर्ने विषयमा क्यान सरकारको निर्देशन कुरिरहेको छ। सरकारले छलफलका लागि बोलाएको छ। त्यसपछि सरकारले के भन्छ सोहीअनुसार गर्नेछौ।’

    काठमाडौं प्रशासन कार्यालले कोरोना जोखिमलाई लिएर सर्तकर्ता अपनाउन आह्वान गरेको छ। ‘बुधबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा तत्काललाई काठमाडौंमा कुनै पनि सभा समारोह र ठूलो जमघट नगर्न नगराउन तथा भिडभाडमा नजान काठमाडौंका नागरिकलाई आग्रह गर्ने निर्णय गरेका छौं’, बिहीबार बिहान नेपालखबरसँग कुरा गर्दैै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।  ‘अर्को निर्णय नहुन्जेल अब कुनै पनि सभा, समारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं’, उनले थपे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार