कोरोना भाइरसः के हो कोभिड -१९ ? यसका लक्षण के-के हुन् ?


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक १५, २०७७

  • कोरोनाभाइरस के हो ?
    आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए।

    भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा किरीटाकार विषाणु वा किरीट विषाणुु पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो। सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो।

    चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो। उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ।

    कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ ?

    कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।

    सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

    कोरोनाभाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने ?

    ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ। केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्।

    कोभिड-१९ का लक्षण देखियो भने के गर्ने ?
    यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ। तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्। सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार