खेलको अन्तिम मिनेटमा बेन्जिमाको गोलले जितायो रियल मड्रिडलाई


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १८, २०७५

  • काठमाडौं, चैत १८ ।  अन्तिम मिनेटमा करिम बेन्जिमाले गरेको गोलको सहयोगमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले पुछारको हुएस्कालाई ३–२ ले हराएको हो ।

    घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि इस्को, डानी सेवालोस र बेन्जिमाले गोल गरे । हुएस्काका लागि आन कामिलो हर्नान्डेज र इचेक्दाले गोल गरे ।

    तेस्रो मिनेटमा हर्नान्डेजको गोलबाट अवे मैदानमा हुएस्काले सुरुवाति अग्रता लियो । २५ औँ मिनेटमा इस्कोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । ६२ औँ मिनेटमा सेवालोसले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।

    तर ७४ औँ मिनेटमा इचेक्दोले फेरि हुएस्काका लागि बराबरी गोल फर्काए । ८९ औँ मिनेटमा बेन्जिमाले गोल गरेपछि जिनेदिन जिदानको टिम विजयी भयो ।

    प्रशिक्षक जिदानले यो खेलमा आफ्ना २० वर्षे छोरा लुकालाई अवसर दिए । गोलरक्षक लुकाले तेस्रो मिनेटमै गोल खाए । तर टिम भने विजयी भयो ।

    जितपछि तेस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ५७ अंक भएको छ । उ शीर्षस्थानको बार्सिलोना भन्दा १२ अंकले पछि छ ।

    लिग अन्तर्गत राति भएका अरु खेलमा भ्यालेन्सियाले सेभिल्लालाई १–० ले हरायो भने लेभान्टे र एइबरले २–२ तथा रायो भालेकानो र रियल बेटिस तथा रियल भालाडोलिड र रियल सोसिडाडले समान १–१ को बराबरी खेले ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार