गौरिकाको सान : जितिन् सर्वाधिक १२ स्वर्ण


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख ११, २०७६

  • काठमाडौं, ११ वैशाख । त्रिभुवन आर्मी क्लबकी गौरिका सिंह आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छन् । उनले १२ वटा स्वर्ण जितिन् । सो प्रतियोगितामा आठ वटा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । पौडी प्रतियोगिताको सुरुकै दिन दुई स्वर्णसहित दुई राष्ट्रिय कीर्तिमान कायम गरेकी उनले दोस्रो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान, तेस्रो दिन चार स्वर्णसहित दुई राष्ट्रिय कीर्तिमान र चौथो तथा अन्तिम दिन चार स्वर्णसहित तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

    चौथो दिन गौरिकाले महिला ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। उनले हिट चरणमा निर्धारित दूरी २७.५९ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। उनले आफ्नै कीर्तिमान सुधार गरेकी हुन् । यसअघि २७.९५ सेकेन्डको उनको कीर्तिमान थियो । यो स्पर्धामा आर्मीकै सोफिया शाह र एपीएफकी टिसा शाक्यले क्रमशः पहिलो र दोस्रो भए ।

    यसैगरी गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले निर्धारित दूरी एक मिनेट ०८.६३ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । आर्मीकी दुआना लामाले रजत र नेपाल पुलिस क्लबकी अनुष्का पोखरेलले कांस्य पदक जिते ।

    गौरिकाले दुई सय मिटर व्यक्तिगत स्पर्धामा नयाँ कीर्तिमान कायम गरिन् । उनले दुई मिनेट ३२.०० सेकेन्डमा सो दूरी पार गर्दै कीर्तिमान बनाइन्। यसअघि उनकै नाममा दुई मिनेट ३२.५१ सेकेन्डको कीर्तिमान थियो । सो स्पर्धामा आर्मीकै दुआना लामा रजत र एपीएफकी टिसा शाक्यले कांस्य जिते। गौरिका सम्मिलित आर्मीले चार गुणा एक सय मिटर रिलेमा पनि स्वर्ण जित्यो। यस्तै नेपाल पुलिसले रजत र एपीएफले कांस्यमा चित्त बुझाए ।

    यसैगरी पुरुष ५० मिटर फ्रिस्टाइलमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। आर्मीका एलेक्स शाहले २५.०६ सेकेन्डको कीर्तिमान बनाएका हुन्। यो कीर्तिमान यसअघि शिरीष गुरुङको नाममा २५.८० सेकेन्डको थियो। यस स्पर्धामा पुलिसका शैयद हमजा साहले रजत र आर्मीका अनुभव सुब्बाले कांस्य जिते ।

    यसैगरी एनआएनएका नाथुन दोर्जे शेर्पाले पनि नयाँ कीर्तिमान बनाए । उनले एक सय मिटर ब्याकस्ट्रोकमा एक मिनेट ०७.०६ सेकेन्डको कीर्तिमान बनाएका हुन् । यसअघि प्रशान्तराज जोशीले एक मिनेट ११.५३ सेकेन्डको कीर्तिमान बनाएका थिए । एपीएफका तेन्जिङ नाम्दोल रायन गुरुङले रजत र एपीएफकै नासिर हुसेनले कांस्य जिते ।

    पुरुष चार गुणा एक सय मिटर रिलेमा पुलिस पहिलो भयो । आर्मी दोस्रो र एपीएफले तेस्रो स्थान हात पार्‍यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार