ग्रीजमनलाई बार्सिलोनामा १७ नम्बरको जर्सी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार ३०, २०७६

  • काठमाडौं । असार ३० । स्पानिस जायन्ट बार्सिलोनाले फ्रेन्च फरवार्ड एन्टोइन ग्रीजमनलाई १७ नम्बरको जर्सी प्रदान गरेको छ। बार्सिलोनाले ग्रीजमनलाई १७ नम्बरको जर्सी दिँदै क्लबको खेलाडीको रुपमा प्रस्तुत गरेको हो। यसअघि पेड्रो एमानुएल पेटिट र मार्क भान बोमेल जस्ता खेलाडीले १७ नम्बर जर्सी लगाएर बार्साका लागि खेलेका थिए।

    दुई दिन अघिमात्र बार्सिलोनाले ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिडबालई ग्रीजमनलाई १०८ मिलियन पाउण्डमा क्लब भित्र्याएको थियो।

    २८ वर्षीय ग्रीजमनसँग बार्सिलोनाले ५ वर्षको सम्झौता गरेको हो।

    बार्सिलोना ग्रीजमनको लागि तेस्रो ला लिगा क्लब हो। सन् २००९ देखि २०१४ सम्म रियल सोसिडाडमा खेलेर उनी एट्लेटिको गएका थिए। उनले युथ करियर पनि सोसिडाडबाटै सुरु गरेका थिए। एट्लेटिकोमा ग्रीजमनले २५६ खेल खेल्दै १३३ गोल गरेका थिए।

    सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका ग्रीजमनले बार्सिलोनामा अनुबन्ध हुँदा उत्साहित भएको बताएका छन्। ‘यहाँ हुन पाउँदा म एकदमै एक्साइटेड छु। म ठूलो चुनौती स्विकार गरेर आएको छु। अब आउने दिनको लागि म तयार छु,’ ग्रीजमनले भने।

    उनले आफ्नो लागि यो नयाँ चुनौती भएको बताउँदै बार्सिलोनाबाट सबै उपाधि जित्न चाहेको बताए। ‘यो नयाँ चुनौती हो। म जहिल्यै राम्रो गर्ने प्रयास गर्छु। म ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्न चाहन्छु- जुन मेरो सिभीमा मिसिङ छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार