चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २२, २०७७

  • corona

    चितवन, २२ भदौ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन् ।

    हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् । इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य सङ्क्रमितमध्ये होम आइसोलेसनमा २५५ र संस्थागत आइसोलेसनमा ५३९ जना रहेका छन् ।

    सङ्क्रमितमध्ये महिला ४०४ र पुरुष ५७८ रहेको कार्यालयले जनाएको छ । जिल्लामा १२ सङ्क्रमितको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यस जिल्लामा गत वैशाख ५ गते पहिलो पटक सङ्क्रमण देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार