चीनको स्मार्टफोन कारखाना बन्द गर्दै सोनी कर्पोरेशन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १४, २०७५

  • चैत १४ , काठमाडौं ।  जापानी बहुराष्ट्रिय प्रविधि कम्पनी सोनी कर्पोरेशनले चीनमा रहेको आफ्नो स्मार्टफोन कारखाना बन्द गर्ने भएको छ । आउँदो केही दिन भित्रै कम्पनी राजधानी पेचिङस्थित कारखाना बन्द गर्ने कम्पनी प्रवक्ताले बताएका छन् । घाटामा चलिरहेको व्यवसायको लागत कटौती गर्ने प्रयास अन्तर्गत कम्पनीले यस्तो निर्णय गरेको हो । उक्त कारखानाबाट हुने उत्पादनलाई थाइल्याण्डमा सार्ने कम्पनीको योजना छ ।

    यस कदमले लागत आधा कटौती हुने र सन् २०२० को अप्रिलदेखि स्मार्टफोन व्यवसाय मुनाफामा फर्किने बताइएको छ । यो निर्णयको चीन-अमेरिकाबीच चलिरहेको व्यापार विवादसँग कुनै सम्बन्ध नरहेको प्रवक्ताले बताएका छन् । सोनीको घाटामा चलिरहेको व्यवसायहरुमध्ये स्मार्टफोन व्यवसाय पनि एक हो । यसै महीना सकिने आर्थिक वर्षमा उक्त एकाईले ९५ अर्ब येन (८६ करोड ३० लाख डलर) घाटा बेहोर्ने क्रममा छ ।

    एशियाली प्रतिद्वन्द्वी कम्पनीहरुसँगको चर्को प्रतिस्पर्धाबीच कम्पनीले उक्त एकाइ नै बेच्दा उचित हुने केही विश्लेषकहरुले बताएका छन् । अहिले स्मार्टफोन बजारमा कम्पनीको हिस्सा एक प्रतिशतभन्दा कम छ । चालू आवमा कम्पनीले विश्वभर ६५ लाख थान स्मार्टफोन बेचेको छ । तर स्मार्टफोन व्यवसाय बेच्ने कम्पनीको कुनै उद्देश्य छैन ।

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार