टोटनहमको मैदानमा जित निकाल्ने दाउमा म्यान्चेस्टर सिटी…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २६, २०७५

  • काठमाडौं, चैत २६ ।  च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज दुई इंग्लिस क्लब टोटनहम र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । टोटनहमको घरेलु मैदान टोटनहम हट्सपर रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

    घरेलु लिग:

    म्यान्चेस्टर सिटीलाई घरेलु लिग प्रिमियर लिगको उपाधि दावेदारको रुपमा हेरिएको छ । लिगको ३२ खेल सकिँदा सिटीले २६ खेलमा जित, २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेर ८० अंक जोडेको छ । लिगमा एक खेल बढी खेलेको लिभरपुलको ८२ अंक छ ।

    उता टोटनहमले भने ‘टप फोर’ फिनिस गर्नको लागि प्रयास जारी राखेको छ । टोटनहमले खेलको ३२ खेलमध्ये २१ खेलमा जित, १ खेलमा बराबरी तथा १० खेलमा हार व्यहोरेर ६४ अंक जोडेको छ । हाल आर्सनल लिगको चौथो स्थानमा छ । टोटनहमभन्दा अघि चेल्सी रहेको छ ।

    जारी च्याम्पियन्स लिगको प्रदर्शन:

    टोटनहम:

    टोटनहम च्याम्पियन्स लिगको समूह ‘बी’को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । टोटनहमले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० गोलले पराजित गरेको हो ।

    म्यान्चेस्टर सिटी:

    म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’बाट समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गरेको हो । म्यान्चेस्टर सिटीले अन्तिम १६ मा जर्मन क्लब साल्केलाई समग्रमा १०–० गोलले पराजित गरेको हो ।

    पछिल्लो पाँच खेल;

    टोटनहमः

    टोटनहमले खेलेको पछिल्लो पाँचखेलमध्ये दुई खेलमा जित हाँसिल गरेको छ । त्यस्तै एक खेलमा बराबरी तथा दुई खेलमा हार व्यहोरेको छ । टोटनहमले क्रिस्टल प्यालेसविरुद्ध २–० गोलको जित तथा बोरुसिया डर्टमण्डविरुद्ध १–० गोलको जित निकालेको थियो । त्यस्तै, आर्सनलविरुद्ध १–१ गोलको बराबरी तथा लिभरपुल तथा साउथह्याम्पटनविरुद्ध २–१ गोलको हार व्यहोरेको थियो ।

    म्यान्चेस्टर सिटीः 

    म्यान्चेस्टर सिटीले खेलेको पछिल्लो पाँच खेलमध्ये सबै खेलमा जित निकालेको छ । सिटीले ब्राइटनविरुद्ध १–० गोल, कार्डिफ सिटीविरुद्ध २–० गोल, फुलहामविरुद्ध २–० गोल, स्वान्सीविरुद्ध ३–२ गोल तथा साल्केविरुद्ध ७–० गोलको शानदार जित निकालेको हो ।

    प्लेयर्स टु  वाच

    सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी):

    सर्जियो अगुइरो म्यान्चेस्टर सिटीको मात्रै होइनन् प्रिमियर लिगकै उच्च गोलकर्ता हुन् । उनले जारी लिगमा १९ गोल गरिसकेका छन् । उनै स्टार खेलाडी आज टोटनहमविरुद्ध मुख्य खेलाडीको रुपमा उत्रदैछन् ।

    त्यस्तै, सिटीका अन्य खेलाडीहरुमा लोरियो साने तथा रहेम स्टर्लिङ छन् । सानेको ९ एसिस्ट रहेको छ भने स्टर्लिङको पनि ९ एसिस्ट छ ।

    ह्यारी केन (टोटनहम):

    टोटनहमका खेलाडी ह्यारी केन पनि लिगको उच्च गोलकर्ताको सूचीमा छन् । उनले हालसम्म लिगमा १७ गोल गरिसकेका छन् । उनी पनि आज घरेलु मैदानमा मुख्य खेलाडीको रुपमा सिटीविरुद्ध उत्रदैछन् ।

    त्यस्तै, टोटनहमका अर्का मुख्य खेलाडी हुन् क्रिस्टियन एरिक्सन । एरिक्सनले हालसम्म लिगमा ११ एसिस्ट गरिसकेका छन् ।

    रेफ्री:

    बियोरन क्विपरर्स (नेदरल्याण्ड)

    प्रतिक्रिया
    सम्बन्धित समाचार