डियगो म्याराडोना भन्छन् : ‘म झण्डै मरेको’


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २४, २०७६

  • काठमाडौं, २४ वैशाख ।   विश्व फुटबलका महान हस्ती तथा अर्जेन्टिनाका पूर्व स्टार फुटबलर डियगो म्याराडोनाले प्रशिक्षकको हैसियतमा पहिलो उपाधि जित्न असफल भएका छन् ।

    आइतबार उनको मेक्सिकन बी डिभिजन टोली डाराडोसले एट्लेटिको सान लुइससँग हारेसँगै उनको उपाधि जित्ने सपना तुहिएको हो । यो सँगै डाराडोसले ए डिभिजनमा बढुवा हुने मौका पनि गुमाएको छ ।

    पहिलो लेग खेलमा १–१ को बराबरी भएपनि दोश्रो लेगमा ३–२ ले पराजित हुँदै समग्रमा ४–३ ले पछि परेको म्याराडोनाको टोलीको १४ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

    लगातार दोश्रो पटक फाइनलमा पराजित भएपछि म्याराडोनाले भने, ‘म झण्डै मरेको……तर ठिकै छ । तर म टोलीका खेलाडीहरुको लागि निराश छु । ’
    खेल हारेपछि स्टेडियममा उपस्थित २५ हजार दर्शकले म्याराडोना विरुद्ध कराएका थिए ।

    यसअघि ५८ वर्षिय लेजेण्ड फुटबलर म्याराडोनाले मेक्सिकोको सिनालोआ क्षेत्रको उक्त क्लबमा प्रशिक्षणको जिम्मेवारी लिएपछि विश्व फुटबल नै चकित परेको थियो । उक्त क्षेत्र वास्तवमा फुटबलको लागि भन्दा पनि लागुऔषधको लागि प्रख्यात थियो ।

    उनले १५ टोली सम्मिलित प्रतियोगिताको १३ औं स्थानमा रहेको डाराडोसलाई दुई पटक लगातार फाइनलमा पु¥याउँदै आफ्नो क्षमताको परिचय दिन भने सफल भए । उनको यस प्रदर्शनले आलोचकहरु पनि स्तब्ध छन् ।

    अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षक पनि गरिसकेका उनले अर्जेन्टिनाकै क्लबहरु तथा मध्य पूर्वको क्लबसँगै मेक्सिको आएका छन् । यतिका स्थानमा प्रशिक्षक बनेपनि अहिले सम्म उनले आफ्नो टोलीलाई भने उपाधि जिताउन नसकेको आरोप तोड्न सकेका छैनन् ।

    बाहिरिएका खबर अनुसार अब उनले उक्त क्लबको साथ पनि छोड्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार