प्रतिबन्ध पछि, राष्ट्रिय टोलीमा फर्किए मेसी


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक १६, २०७६

  • स्टार खेलाडी लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्। तीन महिना लामो प्रतिबन्ध अवधि सकेर उनी राष्ट्रिय टोलीमा फर्किएका हुन्। तीन महिनासम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

    अर्को महिना हुने ब्राजिल र उरुग्वेविरुद्घको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बिहीबार राति घोषित अर्जेन्टिनी टोलीमा ३२ वर्षीय स्ट्राइकर मेसीलाई पनि समावेश गरिएको हो। गत जुलाईमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितालगत्तै मेसी प्रतिबन्धमा परेका थिए। उक्त प्रतियोगितामा अर्जेन्टिना तेस्रो भएको थियो।

    मेसीले कोपा अमेरिका फुटबल प्रतियोगितामाथि गम्भीर आरोप लगाएका थिए। उनले प्रतियोगितामा चलखेल हुने गरेको आरोप लगाएका थिए। दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीमाथि पनि उनले नकारात्मक टिप्पणी गरेका थिए। सोही कारणले उनीमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।

    प्रतिबन्धको अवधिमा मेसीले अर्जेन्टिनाका लागि चार खेल खेल्न पाएनन्। तर, यसबीचमा पनि उनले स्पेनिस क्लब बार्सिलोनाबाट भने खेल्दै आएका थिए। उनले यो सिजन बार्सिलोनाका लागि पाँच गोल गरिसकेका छन्। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले नोभम्बर १५ मा ब्राजिलको सामना गर्नेछ। उक्त खेल साउदी अरबियामा खेलिनेछ।

    यसैगरी अर्जेन्टिना र उरुग्वेबीचको खेल भने नोभेम्बर १८ मा खेलिनेछ। उक्त खेल इजरायलमा हुनेछ। यी दुवै खेलका लागि घोषित अर्जेन्टिनी टोलीमा स्ट्राइकरका रूपमा सर्जियो एग्वेरो, निकोलस गोन्जालेज, लाउटारो मार्टिनेज र पाउलो डिबालालाई पनि समावेश गरिएको छ। निकोलस ओटामेन्डी र मार्कोस रोजोले पनि टोलीमा स्थान पाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार