प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा,प्रधानमन्त्रीका ४ असन्तुष्टि


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक २४, २०७६

  • काठमाडौं । प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

    ‘प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि हामीले छलफल गर्‍यौं र आजै सामूहिक राजीनामा बुझायौं’, राजीनामा दिने मध्येका एक सदस्यले भने। यद्यपि, प्रधानमन्त्रीले सबैको राजीनामालाई स्वीकार नगर्ने र केहीलाई भने सचिवालय सदस्यको रुपमा निरन्तरता दिने सम्भावना पनि छ।

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्। त्यस्तै, परराष्ट्र सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली छन्। सचिवालयमा अन्य सदस्य पनि छन्।

    पछिल्लो छलफल
    प्रधानमन्त्रीले शुक्रबार सचिवालयका कर्मचारीसँग छलफल गरेका थिए। उनले त्यहाँ आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। त्यहाँ उनले सल्लाहकार र सचिवालय सदस्यकै कारणले आफ्नो अनावश्यक आलोचना भएको बताएका थिए।

    छलफलमा उनले सचिवालयका कर्मचारीको क्षमतादेखि सार्वजनिक अभिव्यक्तिसम्मलाई असन्तुष्टि व्यक्त गर्ने आधार बनाएका थिए। विशेषगरी प्रधानमन्त्री ओलीले चार विषयलाई केन्द्रमा राखेर आलोचना गरेको एक सहभागीले बताए।

    पहिलो, विषयगत क्षमताको अभाव। दोस्रो, सल्लाहकारको सार्वजनिक रुपमै अन्टसन्ट बोल्ने बानी। तेस्रो, पार्टीभित्रै सल्लाहकारको भूमिकालाई लिएर आलोचना बढ्दै गएको। र चौथो, प्रोटोकल र अथुरिटी ब्रिफिङ भएन।

    हुन पनि प्रधानमन्त्रीका कतिपय सल्लाहकार आफ्नो विषयगत दक्षताको प्रयोगभन्दा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएर आलोचित हुने गरेका छन्। जस्तो कि, केही समयअघि प्रधानमन्त्रीमा मुख्य सल्लाहकार विष्णु रिमालले बिम्ब प्रयोग गर्दै सरकारको आलोचकहरुलाई छौंडा भनेका थिए।

    नरम र जवाफदेही हुनुपर्ने अपेक्षा गरिएका सल्लाहकारहरु दम्भी हुने गरेकोमा पनि आलोचना हुने गरेको छ।

    कसप्रति लक्षित?
    बेलाबेलामा प्रधानमन्त्रीका सचिवालयको कमजोरीमाथि प्रश्नहरु उठ्ने गरेका थिए। प्रधानमन्त्रीलाई सचिवालयकै सदस्यहरुले थप विवादित बनाउने गरेको विश्लेषण पनि हुने गरेकै थियो। जसकारण, प्रधानमन्त्रीलाई सल्लाहकार फेर्न समेत सुझाव समेत व्यक्त हुने गरेका थिए। तर प्रधानमन्त्रीले त्यसप्रति चासो व्यक्त गरेका थिएनन्।

    यद्यपि, शुक्रबारको छलफलमा प्रधानमन्त्री छलफलमा कसैप्रति प्रत्यक्षरुपमा लक्षित भएका थिएनन्।। न त उनले राजीनामा शब्द नै उच्चारण गरेका थिए। ‘प्रधानमन्त्रीले राजीनामा शब्द उच्चारण गर्नुभएन। तर, विकल्प सधैं रहन्छ। यसबारे सोच्नुस् भन्नुभयो’, ती सहभागीले बताए।

    प्रधानमन्त्रीको शैली ‘बुझ्नेलाई इशारा काफी छ’ भन्ने खालको थियो।

    उनकै अनुसार प्रधानमन्त्रीको असन्तुष्टि मुख्यगरी दुई सल्लाहकारमाथि थियो। पहिलो, प्रेस सल्लाहकार कुन्दन अर्याल। दोस्रो, परराष्ट्र सल्लाहकार राजन भट्टराई। अन्य सदस्यप्रतिचाहिँ सन्तुष्ट व्यक्त गरेका भने होइन।

    ‘प्रधानमन्त्रीको असन्तुष्टिपछि शनिबार नै हामी सचिवालयका सदस्यहरुले करिब ४५ मिनेट छलफल गर्‍यौं। त्यसपछि सामूहिक राजीनामाको निष्कर्षमा पुगिएको हो’, ती सदस्यले भने।

    प्रधानमन्त्रीले घटना नै उदारहणको रुपमा लिएर आफ्नो पछिल्लो उपचारबारे सही सूचना प्रवाह नभएका कारण आम रुपमा भ्रम फैलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ओली उपचारका लागी ग्राण्डी अस्पताल भर्ना भएका बेला प्रधानमन्त्रीका सचिवालयप्रति सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा चर्को असन्तुष्टि सार्वजनिक भएका थिए। असन्तुष्टि व्यक्त गर्नेहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सूचना लुकाएको बताएका थिए। त्यस्तै, आफ्ना बाह्य भ्रमण तथा अन्य देशका प्रमुखहरुको भ्रमणका बेलामा सही समन्वय गर्न नसकेको प्रधानमन्त्रीको बुझाइ थियो। प्रोटोकलको राम्रो ब्रिफिङ हुन नसक्दा एसिया प्यासिफिक समिट जस्ता कार्यक्रममा पनि प्रधानमन्त्री विवादमा तानिएका थिए।

    त्यस्तै चीनका सीको दुई दिने नेपाल भ्रमणको बेलामा पनि प्रधानमन्त्रीसँग धेरै असन्तुष्टि रहेको थियो। आधिकारिक सूचना प्रवाहलाई सहज बनाउन नसकेको प्रधानमन्त्रीको आरोप थियो।

    दबाबमा प्रधानमन्त्री
    सरकारको तर्फबाट जतिसुकै प्रचार हुने गरेको भएता पनि सरकारले अपेक्षित काम गर्न नसकेको नेकपा नेताहरु नै बताउँछन्। प्राथमिकता र अपेक्षाबीच अलमलिएको सरकारले वाचा अनुसारको काम पनि गर्न सकेको छैन।

    सचिवालयका सदस्यहरु बढी बोलेका र असन्तुलित ढंगबाट बोलेका कारण प्रधानमन्त्रीको आलोचना भइरहेको सन्देश प्रधानमन्त्रीलाई बेलाबखतमा पुगिरहेकै थियो। त्यसमा विशेषगरी मुख्य सल्लाहकार रिमालको आलोचना हुने गरेको थियो। रिमाल पार्टीकै सहयात्रीप्रति पनि सार्वजनिक रुपमा कठोर धारणा राख्छन्।

    केहीअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओली पछिल्लो निष्कर्षमा पुगेको बताइन्छ। प्रचण्डले ओलीलाई सचिवालयको सदस्यहरुलाई हेरफेर नगर्ने हो भने सरकारको सार्वजनिक आलोचना बढ्दै जाने भन्दै सचेत बनाउने प्रयास गरेका थिए। प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदाको अनुभव समेत जोडेर प्रधानमन्त्रीलाई कन्भिन्स गरेका थिए।

    अर्कोतिर केही गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन्। त्यसका लागि उपलब्ध सबै विकल्पका निम्ति उनी तयार छन्। सामूहिक राजीनामा त्यसैको परिणाम हो। ‘सचिवालयका सदस्यमात्रै होइन, अब केही समयमै मन्त्री समेत फेरिएमा आश्चर्य नमाने हुन्छ’, स्रोतले नेपाल लाइभसँग भन्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार