फ्रान्सले निगमका एयरबसलाई प्राविधिक सहयोग गर्ने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १, २०७७

  • काठमाडौँ, १ पुस । फ्रान्स सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एयरबस जहाजको उडानका लागि प्राविधिक सहयोग गर्न चासो देखाएको छ । नेपालका लागि फ्रान्सका राजदूत जेइरर लिगर र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलबीच भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत लिगरले निगमसँग रहेको एयरबसको सुव्यवस्थित उडानका लागि आवश्यक प्राविधिक सहयोग आदनप्रदान गर्ने सम्बन्धमा कुराकानी भएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

    निगमको केन्द्रीय कार्यालयमा गत मङ्सिर २९ गते भएको उक्त भेटमा दुई देशबीचको नागरिक उड्डयन क्षेत्रमा परस्परको सहयोग र समन्वयमा जोड दिनुका साथै प्राविधिक सहयोगका विषयमा कुराकानी भएको थियो । निगमसँग हाल अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाज छन् । यी चारवटै जहाज निगमले फ्रान्सको एयरबस कम्पनीबाट खरिद गरेको हो ।

    निगमले विसं २०७१ मा दुई थान न्यारोबडी र २०७५ मा २८० सिट क्षमताका दुई थान न्यारोबडी जहाज काठमाडौँ भित्र्याइएको थियो । निगमले हाल भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । युरोपका अन्य देशसहित फ्रान्सको टुलुसमा एयरबसको उत्पादन गर्ने कारखाना रहेको छ ।

    निगमको अन्तरराष्ट्रिय गन्तव्यका आधार वाइडबडी जहाज फ्रान्सको एयरबस कम्पनीबाटै खरिद गरिएको हुनाले उक्त जहाजको उडानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्राविधिक सहयोग उपलब्ध गराउने राजदूतको प्रतिबद्धता थियो । फ्रान्सका राजदूतले निगमको कार्यालयमा पुगेर गरेको छलफल आफँैमा निगमको प्रगति विषय भएको र यो निगमका लागि गौरवको विषय पनि भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार