‘बिग बोस १३’ छोड्दै सलमान खान


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २६, २०७६

  • चर्चित भारतीय टेलिभिजन शो ‘बिगबोस १३’ यतिबेला चर्चामा रहेको छ । यस शोको टीआरपी बढेसँगै निर्माताहरुले बिग बोस १३’ लाई थप पाँच हप्ता अगाडि बढाउने निर्णय गरेको हो । तसर्थ अब यो शो अब फेब्रुअरीमा सकिनेछ । बिग बोसको चौथो सिजनदेखि १३ सिजनसम्म सलमानले शो होस्ट गरिरहेका छन् ।

    सलमान खानले बिगबोसको घरमा बस्ने प्रतियोगी तथा त्यहाँको माहोललाई सम्हाल्दै शो होस्ट गर्ने शैलीलाई दर्शकले निकै नै रोचक तरिकाले हेर्दै आइरहेका छन् । टेलिभिजन दुनियाँमा बिग बोसको भारतीय सिरिज र सलमान खान एक अर्काको पर्याय जस्तै बनिसकेका छन् । तर ‘बिग बोस १३’ को निरन्तर छायाँकंन तथा अन्य सम्झौताका कारण सलमान खानको स्वास्थ्यले उनलाई साथ दिइरहेको छैन ।

    शोका प्रतियोगीबीच हुने झगडा, विवाद र त्यहाँको माहोलले सिर्जना गर्ने तनावका कारण सलमानले पछिल्ला केही सिजनहरुमा पटक पटक शो छोड्ने कुरा पनि बताउँदै आइरहेका थिए । तर  हालै सार्वजनिक खबरहरुका अनुसार सलमानको स्वास्थ्य समस्याका कारण उनको परिवारले समेत सलमानलाई शो छोड्न भनेको छ ।

    खबरहरुका अनुसार सलमान खान ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् । यसै रोगका कारण सलमानका लागि  तनाव लिनु र रिसाउनु घातक हुन सक्छ । यस रोगका बिरामीको अनुहारको मांशपेशी तन्किँदा भयानक पीडा हुन थाल्छ । अहिले ‘बिग बोस १३’ को शो होस्टका क्रममा सलमान निकै नै रिसाउने गरिरहेका छन् ।
    बिग बोस घरमा रहने प्रतियोगीको व्यवहारका कारण सलमान रिसाउने र झर्कने गरिरहेका छन । जुन कुरा सलमानको स्वास्थ्यका लागि उचित होइन । बिग बोसको चौथो सिजनदेखि होस्ट गर्दै आइरहेका सलमानले पछिल्ला केही सिजनदेखि नै शो होस्ट गर्न छोडिदिने बताउँदै आइरहेका छन् ।

    तर हरेक पटक च्यानल तथा शोका निर्माताहरुले सलमानलाई मनाउँदै आइरहेका छन् । तर यस पटक भने सलमान शो छोड्ने कुरामा अडिग रहेका छन् । सलमानका आफन्तजनले निर्मातालाई छायाँकंनको क्रममा सलमानलाई धेरै तनाव नदिन चेतावनी दिएका छन् । साथै सलमानलाई छिट्टै नै यो शो छोड्न भनिरहेको छ । तसर्थ सलमानले उनको स्वास्थ्यलाई ध्यानमा राख्दै शो छोड्न सक्ने चर्चा छ ।

    सलमान खानले शो छोडेलगत्तै फिल्म निर्देशक तथा कोरियोग्राफर फराह खानले शोलाई अगाडि बढाउने चर्चा भइरहेको छ । फेब्रुअरीसम्म चल्ने यस शोलाई फराहले जनवरीदेखि होस्ट गर्नेछिन् ।

    यही डिसेम्बर २७ मा ५४औं जन्मदिन मनाउन गइरहेका सलमानले आफ्नो जन्मदिन बिग बोसकै सेटमा मनाउन सक्ने पनि बताइएको छ । सलमान खान ‘बिग बोस १३’ बाहेक फिल्म ‘दबंग ३’ को प्रमोशनमा समेत व्यस्त छन् ।

    यो फिल्म यही डिसेम्बर २० मा रिलिज हुँदैछ । यस बाहेक उनी फिल्म ‘राधे’ को छायाँकंनमा समेत व्यस्त छन् । जुन फिल्म अर्को वर्षको इदको अवसरमा रिलिज हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार