भारत संग बद्ला लिने छौं :पाकिस्तान


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ – भारतीय वायु सेनाको जहाजले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमिमा बम खसालेपछि भारत-पाकिस्तान सम्बन्धमा तनाव झन् चुलिएको छ।

    भारतले पाकिस्तानी भूमिमा रहेर आतंकवादी गतिविधि गरिरहेको र १४ फेब्रुअरीमा ४० जना सुरक्षाकर्मीको ज्यान जाने गरी पुलवामामा आत्मघाती हमला गर्ने जैस-ए-मोहम्मदको तालिम केन्द्रमा बम खसालेको बताएको छ। उक्त समूहले फेरि पनि भारतमा आक्रमण गर्ने सूचना आएकाले यो आक्रमण जायज भएको भारतीय विदेश मन्त्रालयको दाबी छ।

    पाकिस्तानले भने  भारतीय वायु सेनाले ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र  पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको  बताएको छ।

    पाकिस्तानी विदेश मन्त्री साह मोहम्मद कुरेशीले यस्तो घटना भारतले गर्न सक्ने आँकलन आफूहरूले पहिला नै गरेको बताएका छन्।

    ‘हामीले दुनियाँलाई भनिरहेका थियौं, भारतले यस्तो गर्न सक्छ। आज उनीहरूले त्यो गरेका छन्,’ विदेश मन्त्री कुरेशीले भने, ‘पाकिस्तानमाथि  खतराको बादल मडारिरहेको छ। पाकिस्तान  जीवन्त र बलियो छ। हामी जिम्मेवार राष्ट्र हौं।  हामीलाई हाम्रो हितको रक्षा कसरी गर्ने थाहा छ।’

    उनले भारतले आक्रामकता देखाएको उल्लेख गर्दै त्यसको जवाफ दिने  अधिकार पाकिस्तानलाई  जवाफ फर्काउने अधिकार भएको बताए।

    ‘पाकिस्तानलाई आफ्नो रक्षाका लागि जवाफ फर्काउने अधिकार छ।  हामी जवाफदेही र रणनैतिक तरिकाले जवाफ दिनेछौं,’ विदेश मन्त्री कुरेशीले भने।

    भारतले वायुसेवाको आक्रमणमा परी  सैयौं आतंककारी मारिएको दाबी गरेको छ। तर  रोयटर्स र बिसिसीले घटनास्थलका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एक जना घाइते भएको जनाएका छन्।

    भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ।

    मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को  पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए।

    ‘आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे। यो दुई दशकदेखि पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो  तालिम केन्द्रमा बम खसालिएको हो,’ गोखलेले भने, ‘आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएका छन्। तर यसमा कोही पनि आमनागरिक परेका छैनन् किनकी यो तालिम केन्द्र बाक्लो जंगलबीच थियो।’

    उनले पाकिस्तान सरकारको जानकारीबिना जैस ए मोहम्मदले आफ्ना गतिविधि गर्न नसक्ने तर्क गर्दै पाकिस्तानले भारतविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पालना नगरेकाले यो आक्रमण गर्नु परेको बताए।

    यसअघि  भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए। भारतीय सञ्चारमाध्यम एसियन न्युज इन्टरनेशनलका अनुसार पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको हुन्। अधिकारीहरूले भारतले खसालेको बम पड्किदा त्यहाँ रहेको आतंककारी समूह जैश-ए-मोहम्मदको अखडा ध्वस्त भएको दाबी गरेका छन्। बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारत फर्किएको अधिकारीहरूले जनाएका छन्।

    पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र  पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको  बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै  फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ  खसालेको बताएका छन्। भारतीय बमबाट कुनै मानवीय क्षति नभएको पाकिस्तानको दाबी छ। गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत  र पाकिस्तानको सम्बन्ध तिक्तता आएको छ।

    एजेन्सी इस्लामावाद

    प्रतिक्रिया
    सम्बन्धित समाचार