मड्रिडलाई सँधै बेर्नाबेउको डर


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १६, २०७६

  • स्पेनिस क्लब रियल मड्रिडलाई घरेलु मैदानमा हुने खेलमा सँधै डर हुने गरेको छ । गत बुधबार राति सम्पन्न म्यान्चेस्टर सिटीविरुद्धको खेलमा राम्रो खेल्दा खल्दै पनि रियल मड्रिड मात्र ५ मिनेट सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।

    पछिल्लो पटक घरेलु मैदानमा भएको चार खेलमध्ये रियलले मात्र एकमा जित हासिल गरेको छ । जारी सिजनको समूह चरणको खेलमा गालातासारेविरुद्ध रियलले ६–० गोलको शानदार जित दर्ता गरे पनि त्यसपछिका खेलहरुमा भने निराशाजनक प्रदर्शन गरेको छ । क्लब ब्रुगा  तथा पीएसजीविरुद्ध भने रियलले २–२ गोलको बराबरी खेलेको थियो ।

    रियलले जारी सिजनमा मात्रै होइन गत सिजनदेखि नै घरेलु मैदानमा कमजोर खेल खेल्दै आएको छ । गत सिजन आयाक्सले ४–१ गोलले, सीएसकेए मस्कोले ३–० गोलले तथा भिक्टोरिया प्लाजेनले १–० गोलले रियललाई पराजित गरेको थियो ।

    पछिल्लो समय पनि रियल घरेलु मैदानमा कमजोर भइरहेको छ । कोपा डेल रे अन्तर्गत रियल सोसिडाडले ४–३ गोलले घरेलु मैदानमै पराजित गरेका रियल प्रतियोगिताबाट बाहिरिसकेको छ । केही हप्ताअघि मात्रै सेल्टा भिगोले पनि बराबरी खेलेको बेर्नाबेउमा रियलले आइतबार राति हुने एल क्लासिको कस्तो खेल्ला भन्ने जिज्ञासा धेरैलाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार