मर्दी हिमालको ‘हाइक्याम्प’ मा फोन र इन्टरनेट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक १२, २०७७

  • कास्की, १२ कात्तिक । नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ। माछापुच्छ्रे गाउँपालिका ९ स्थित तीन हजार ५५० मिटरको उचाईको ‘हाईक्याम्प’मा टावर स्थापना गरी फोन र इन्टरनेट सेवा सुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिँह महर्जनले जानकारी दिए। विद्युत नभएकोले सोलार प्रणालीबाट ‘टूजी’ र ‘थ्रीजी’ मोबाइल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको इन्टरनेट चलाउन तथा कुराकानी गर्न सकिनेछ। त्यहाँ ‘ओम्नी एन्टेना’ जडान गरिएको छ।

    आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ मर्दी हिमाल पदयात्रा। समुन्द्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा अवस्थित मर्दी हिमालको आधारशिविर पदयात्राको अन्तिम गन्तव्य हो। मर्दी पदयात्रामा टेलिकमको सेवा विस्तारसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे नमूना पदयात्रामा जाने पर्यटक लाभान्वित हुने सोही क्षेत्रमा पर्यटन व्यवसायमा आबद्ध सुदीप गौतम बताउँछन्।

    पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ्रे ९ सिदिङसम्म जीपमा पुग्न सकिन्छ जहाँबाट पैदलयात्रा सुरु हुन्छ। पोखराबाट पाँचदेखि ६ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ।

    हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्‍गल, सुन्दर डाँडाकाँडा र बस्तीको दृश्यावलोकनसहितको आनन्द लिन सकिने यो पदयात्रामा वर्षमा ४० देखि ५० हजार हाराहारीमा पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन्। पर्यटकको आकर्षण रहे पनि सञ्चार पहुँच नहुँदा पर्यटक बाटोबाटै हराउने, गन्तव्य पहिलाउन नसक्दा अलमलिने तथा परिवारसँगको सम्पर्कबाट विमुख हुनुपर्ने बाध्यता थियो। कतिपय अवस्थामा पर्यटकको उद्धार तथा बिरामी भएमा अस्पतालसम्म लैजानलाई सम्पर्क गर्न कठिन पर्थ्यो।

    माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ले टेलिकम पोखरालाई सेवा विस्तारको अनुरोध गरेपछि वडा र टेलिकमबीच गत वर्ष सोसम्बन्धी सम्झौता भएको थियो। अब मर्दीको आधार शिविरसम्मै फोनमा कुराकानी गर्न सकिन्छ। कार्यालय प्रमुख महर्जनले भने, ँउकाली, ओराली तथा बढी खोँच भएकाले राम्रो सेवाका लागि अझै केही स्थानमा टावर थप्नुपर्ने हुन सक्छ। गुणस्तर हेरेर अन्यत्र सेवा बढाउँछौँ।”

    अन्नपूर्ण पदमार्गको देउरालीको सीडीएमए टावरका कारण कहिलेकाँही सो सेवा उपलव्ध रहे पनि प्रायःजसो सम्पर्क गर्न कठिनाइ हुन्थ्यो। हालको टावर सञ्चालनबाट अन्नपूर्ण पदमार्गका कतिपय कूना काप्चाहरुमासमेत सेवा पुग्ने र सो मार्गका अन्य स्थानहरुमा यही टावरकै लिङ्‍क प्रयोग गरी सेवा विस्तार गर्न सकिने टेलिकमले जनाएको छ। सञ्चारको असुविधाका कारण कतिपय पर्यटकहरु पदयात्राका क्रममा बेपत्ता भएको र खोजी कार्यमासमेत कठिनाइ हुने गरेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए।

    फोन नलाग्दा पर्यटक र उनीहरुका पथप्रदर्शक तथा पर्यटन व्यवसायीबीच सम्पर्क नहुँदा कपितय अवस्थामा दुर्घटना र बिरामी पर्दासमेत समयमै उद्धारमा कठिनाइ हुने गरेको बताइन्छ।

    मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले घाम नलागेको दिनमा साँझमा फोन र इन्टरेटमा अलि समस्या आए पनि अन्य दिनमा राम्रो सेवा प्राप्त भएको बताए। समितिले हाइक्याम्पमा टेलिकमको टावर राख्नका लागि ६ लाख रुपैयाँ लागतमा भवन निर्माण गरेको बताए। पदयात्रीको बास बस्ने अन्तिम स्थल हाइक्याम्प हो। त्यहाँबाट आठ घण्टामा मर्दीको आधार शिविर पुगेर फर्केर आउन सकिन्छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार