मलको कालोबजारी गरे कारवाही


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २३, २०७७

  • भरतपुर, २३ भदौ । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो ।

    थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य सङ्ख्या, विगतमा रासायनिक मलको कारोवारको अवस्था र सम्बन्धित स्थानीय तहमा अनुमति लिएका सहकारीलाई मध्यनजर गरी मलको सिफारिस गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । सहकारी संस्थालाई उपलब्ध गराइएको मलको परिमाणलाई थप पारदर्शी ढङ्गले बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन गरेको उनले बताए ।

    यस्तै स्थानीय निकायसँग समन्वय गरी कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नसमेत ज्ञान केन्द्रले अनुरोध गरेको छ । अहिले धान पसाउन शुरु गरेका हुनाले अबको १५ दिन धान बालीका लागि संवेदनशील समय भएको उल्लेख गर्दै उचित मलजल हुन नसकेमा उत्पादनमा ह्रास आउनसक्नेतर्फ ज्ञान केन्द्रले सचेत गराएको छ ।

    प्रमुख ढकालले सहकारी र कृषक समूहलाई धान बालीलाई प्राथमिकतामा राखेर मल वितरण मिलाउनसमेत अनुरोध गरिएको बताउनुभयो । कसैले कालोबजारी गरेको थाहा पाए जानकारी उपलब्ध गराउनसमेत ज्ञान केन्द्रले अनुरोध गरेको छ ।

    चितवनमा हालसम्म ४२६ मेट्रिक टन मल वितरण भइसकेको छ । नेपाल सरकारले उपलब्ध गराउने कोटामध्य कृषि सामग्री कम्पनीबाट आठ हजार मेट्रिक टन र साल्ट्र ट्रेडिङबाट ८०० मेट्रिक टन वितरण हुने गरेको छ । वितरण हुन बाँकी मलसमेत केही दिनमा आउने र वितरणमा पनि सहजता हुने ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । सरकारले उपलब्ध गराएको मल न्यायोचित ढङ्गले वितरण गर्न ज्ञान केन्द्रले अनुरोध गरेको छ ।

    मागअनुसारको आपूर्ति हुन नसक्दा देशभर नै मलको चरम अभाव छ । चितवनमा वार्षिक १० हजार मेट्रिक टन मलको माग हुने गर्दछ । सबैभन्दा धेरै धान बालीका लागि मल चाहिने गरेको छ । साउन महिनामा मात्रै साल्ट्र ट्रेडिङ कार्पोरेशन लिमिटेडले ४२६ मेट्रिक टन युरिया मल बिक्री गरिसकेको छ भने कृषि सामग्री कम्पनीले युरियाबाहेकका मल बिक्री वितरण गरेको छ ।

    चितवनमा रासायनिक मलको बिक्री वितरणका लागि अनुमति लिएका १०३ वटा सहकारीले ज्ञान केन्द्र चितवनको सिफारिसमा अनुदानको रासायनिक मल वितरण गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार