महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ : मन्त्री नेम्वाङ


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज १०, २०७७

  • पाँचथर, १० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताए ।

    ‘ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ’, मन्त्री नेम्वाङले भने ।जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै मन्त्री नेम्वाङले जनता निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । उनले महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेको दावी गरे ।

    ‘भएका समस्या सुल्झिन्छन् तर बाहना बनाएर न सरकारी निकायले छुट पाउँछ न त निर्माण व्यवसायीले नै’, नेम्वाङले भने, ‘हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् ।’ धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको बताउँदै मन्त्री नेम्वाङले अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट नपाउने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार