मेस्सी भन्छन्:- रोनाल्डो र मेरो प्रतिस्पर्धा सधैं रहिरहन्छ…


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १, २०७६

  • बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डो ला लिगामा खेल्दा दुई खेलाडी बीचको प्रतिस्पर्धा सधैंभर दर्शकहरुमाझ ताजा नै रहने बताएका छन् । उनले रोनाल्डो हाल इटालियन लिगमा खेलेपनि दुई बीचको प्रतिस्पर्धा बिर्सन नसकिने बताएका छन् ।

    रोनाल्डो र मेस्सीले सन् २००९ देखि २०१८ सम्म स्पेनिस ला लिगमा एक अर्कासँग नियमित प्रतिस्पर्धा गरेका थिए । चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्नुले पनि यी दुईको प्रतिस्पर्धामा थप रोमान्चक भएको थियो । मैदानमा यी दुई खेलाडीले लगातार प्रतिस्पर्धा गर्दै पछिल्लो दशक विश्व फुटबलमा वर्चस्व नै कायम गरे ।

    यसक्रममा रोनाल्डो र मेस्सीले पछिल्लो १२ वर्षमा ११ पटक ब्यालोन डी’ओर अवार्ड जिते । सन् २०१९ मा मेस्सीले उपाधि जित्दै यी दुईको वर्चस्व केहि हदसम्म कम गरे । मेस्सीले रोनाल्डोसँगको प्रतिस्पर्धा लामो समय चलेको र उच्च बिन्दुमा प्रतिस्पर्धा हुनुले पनि समर्थकहरुलाई बिर्सन कठिन हुने बताए । उनले रोनाल्डो इटालियन लिगमा गएपनि प्रतिस्पर्धा अझै ताजा रहेको अभिव्यक्ति दिए ।

    Related image

    ‘ यो प्रतिस्पर्धा निकै विशेष थियो । र, सधैंभर यादगार नै रहनेछ । यति लामो समयसम्म उच्च विन्दुमा रहेर प्रतिस्पर्धा गर्नु निकै कठिन थियो । र हामी जुन टोलीमा खेल्यौं दुवै टोलीले हामीबाट सधैं उत्कृष्ट नै अपेक्षा गरिरह्यो । विश्वको दुई उत्कृष्ट टोलीमा खेल्नुले पनि हामीलाई सहयोग गर्यो,’ मेस्सीले डीएजेडएनसँग बोल्दै भने ।

    ‘ एकै स्तरमा यति लामो समय प्रतिस्पर्धा गरेका कारण पनि बिर्सन सहज छैन । हाम्रो प्रतिस्पर्धा व्यक्तिगत रुपमा पनि रहयो र यसले दर्शकहरुलाई निकै मनोरंजन प्रदान गर्यो । दुवै बार्सिलोना र रियल मात्र नभएर फुटबल खेलका हरेक दर्शकले यसबाट पूर्ण मनोरंजन लिए भन्ने लाग्छ, ‘ मेस्सीले थपे ।

    मेस्सीले ४ वर्षको अन्तरलपछि सन् २०१९ मा आफ्नो छैटौं ब्यालोन डी’ओर उपाधि जिते । उनले यससँगै ५ पटक सो उपाधि जितेका रोनाल्डोलाई उछिने । रोनाल्डो ला लिगामा खेलेको समयमा उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरे । ठिक यस समयमा मेस्सीले भने ४ सय ७८ खेल खेल्दै ४ सय ७२ गोल गर्न सफल रहे ।

    मेस्सीले रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा एल क्लासिको पनि विशेष रहने गरेको बताए । उनले रोनाल्डो रियलबाट खेलेको कारण नै त्यस समय एल क्लासिकोले बढी महत्त्व पाएको अभिव्यक्ति दिए ।

    ‘ पक्कैपनि रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दा ती खेल विशेष थिए । यसैपनि रियल र बार्सिलोनाको खेल महत्त्वपूर्ण नै हुन्छ । तर जब रोनाल्डो खेल्थे मलाई थप विशेष लाग्ने गरेको थियो,’ उनले थपे, ‘ अब त्यो सबै पुरानो कुरा हो । जसको अनुभव हामीले संगालेको छौं । अब त्यसैलाई लिएर हामी अगाडी बढ्नुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार