पूर्वेली ठेटको ‘पुरानो बुलेट’ : कस्तो छ कथा ?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • चैत १ । काठमाडौं । आजबाट चलचित्र पुरानो बुलेट  हलमा प्रदर्शनमा आएको छ । फिल्मलाई मनोरञ्जनको उद्योग मानिन्छ । फिल्मले दिने पनि मनोरञ्जन नै हो । यदि यो सर्तलाई मान्ने हो भने ‘पुरानो बुलेट’ राम्रो छ । नाम ‘पुरानो बुलेट’ भएपनि यस चलचित्रले युवा सपना, प्रेम र संघर्षलाई देखाएको छ ।
    फिल्मले तपाईंलाई पूर्वी तराईको लेटाङमा पुर्याउँछ । रुख–बोट्यानले पालुवा फेर्दै गरेको मनमोहक मौसमलाई पृष्टभूमीमा राखेर रैथाने युवा–युवतीको कथा फिल्मले देखाउँछ । फिल्म भीषण राइले निर्देशन गरेका हुन् ।
    लामो समय रंग पत्रकारिता गरेका राईले फिल्ममा पूर्वी तराईको भाषा, लवज, चालचलन, रीतिथिती टपक्कै टिपेका छन् । फिल्मका पात्रहरु यस्ता लाग्छन्, जो हाम्रै साथीभाई हुन् । हामीले दिनहुँ साक्षात्कार गरिरहने कथा र परिवेश यसमा छ ।
    धामीझांक्रीको प्रथा, विवाह, मृत्यु जस्ता किराती संस्कार फिल्ममा देख्न सकिन्छ । तर, यस्ता संस्कारलाई जबरजस्ती घुसाइएको छैन, कथाको माग अनुसार त्यसको सिलसिला जोडिएको छ ।
    ‘पुरानो बुलेट’ हेर्नेले किराती रहनसहन, पूर्वेली चालढालसँग साक्षात्कार गर्न सक्छन् । फिल्मको कथा लेटाङको बस्तीबाट सुरु हुन्छ । कथाका सूत्रधार हुन्, प्रताप राई । प्रताप राईको रुपमा अनुपविक्रम शाह देखापरेका छन् । प्रताप एक विन्दास र आफ्नो मर्जी अनुसार हिँड्ने युवा हुन् । उनलाई घर, परिवार, करियर केहीको परवाह छैन । उनको पुरानो बुलेट बाइक छ ।
    त्यही बाइकमा हिँड्छन् । जग्गा बिक्री, ठेक्का पट्टा, पैसा उठाउने कामबाट प्राप्त हुने सानोतिनो रकमले मस्ती गर्छन् । यसरी मस्ती नै मस्तीमा उनको दैनिकी बित्दो छ । उनलाई घर नजिकैकी एक युवती ‘जमुना’ वर्षा सिवाकोटीले मन पराउँछ । जमुना शुसिल र सचेत युवती हुन् । उनी प्रतापको परिवारसँग निकट पनि छिन् । यस्तैमा इन्ट्री हुन्छ, ‘मोनिका’ अर्थात माला लिम्बुको । अब प्रतापको जीवनमा नयाँ मोड आउँछ । कथामा उतारचढाव सुरु हुन्छ । त्यसपछि कथा कसरी अगाडि बढ्छ ? यसका लागि भने फिल्म हेर्नैपर्छ ।
    यो फिल्ममा युवाहरुको सपना र वाध्यतालाई उजागर गरिएको छ । अहिले नेपाली फिल्मको बजार ध्वस्त हुँदै गएको छ । फिल्मले दर्शक गुमाउदै गएका छन् । यस्तो अवस्थामा पुरानो बुलेटले एउटा चुनौती खेप्नुपर्नेछ, बजारको । तर फिल्म मनोरञ्जनात्मक छ । यसले फुल डोजको मनोरन्जन पस्किएको छ । फिल्ममा हासो, रोदन, आवेग सबै छ । सन्तोष राई र भिषण राइले लेखेको फिल्मले दर्शकलाई फिल्म अवधीभर भरपुर मनोरञ्जन दिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार