युट्युबमा ६ अर्बभन्दा बढी पटक हेरियो डेस्पासितो’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ६, २०७६

  • ‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी।अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ।

    पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ कम समयमै संसारभरि हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको थियो। अहिलेसम्म ६ अर्ब ४५ करोड हाराहारी पुगिसकेको छ।

    यति मात्र होइन, सबैभन्दा धेरै ‘लाइक’ पाउने र छ अर्ब दर्शक (भ्यू) कटाउने पहिलो गीतका रूपमा यसले युट्युबमा इतिहास रचेको छ। झट्ट सुन्दा छ अर्ब सामान्य लाग्ला, तर यो विश्वको जनसंख्या बराबर हो।

    भनिन्छ, संगीतमा डुब्न भाषाको समझ जरुरी छैन। संगीतमा जादू छ भने शब्दको अर्थ नबुझे पनि पारखीहरू चुम्बकमा फलामझैं आकर्षित हुन्छन्। ‘डेस्पासितो’ ले संगीतको यही जादू फेरि एकचोटि प्रमाणित गरेको छ।

    लोकप्रियताको शिखर चुम्न सफल यो गीतमा त्यस्तो के छ, जसले संसारभरका पारखी यसको तालमा झुमिरहेका छन्?

    ‘डेस्पासितो’ ले प्रेमिल शारीरिक सम्बन्धको वर्णन गर्छ, जो आत्मीय छ, पवित्र छ।

    गीतको एउटा अनुच्छेदले भन्छः

    ‘म सुस्तरी तिम्रो घाँटीमा सास फेर्न चाहन्छु,

    सुस्तरी … सुस्तरी …

    तिमी मलाई कानमा केही भन्न देऊ,

    ताकि म साथ नहुँदा तिमीलाई मेरो सम्झना होस्

    सुस्तरी … सुस्तरी …’

    चार मिनेट ४२ सेकेन्ड लामो यो गीत अर्थ खोजी–खोजी वा त्यत्तिकै पनि धेरै देशका सयौं भाषीका मुखमा झुन्डिएको छ।

    यसअघि युट्युबमा धूम मच्चाउने रेकर्ड ‘गङनम स्टाइल’ को खातामा थियो। दक्षिण कोरियाली गायक पिएसवाइको ‘गङनम स्टाइल’ ले पाँच वर्ष युट्युबमा राज गरेको थियो। त्यसपछि विज खालिफाको ‘सी यू अगेन’ ले सार्वजनिक भएको करिब १५ महिनामै गङनम स्टाइललाई उछिन्यो। यो दिवंगत अभिनेता पल वाकरप्रति समर्पित गीत हो, हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ को।

    ‘डेस्पासितो’ रिलिज भएपछि भने लगातार सांगीतिक ‘चार्ट’ मा माथि उक्लँदै कम समयमै दुवै गीतलाई उछिन्न सफल भयो।

    यो ‘ल्याटिन पप’ गीत ‘डेस्पासितो एन्ड मिस ग्रान्ड एक्जिटोस’ एल्बममा छ। पुर्तोरिकोका मनमोहक स्थान, ओल्ड सन जुआनको ला पर्लाको रमणीय परिवेश र स्थानीय बार ‘ला फाक्टोरिया’ को रमझमपूर्ण साँझमा छायांकन यो गीतको म्युजिक भिडियो युनिभर्सल म्युजिक ल्याटिनले रिलिज गरेको हो।

    एन्ड्रेस टोरेस र मरिको रेन्गिफोले निर्माण गरेको डेस्पासितोका शब्द गायकद्वय फोन्सी र यांकीका साथै एरिका एन्डरले रचेका हुन्। गीतले सन् २०१७ प्रिमियस जुभेन्टडअन्तर्गत ‘पर्फेक्ट कम्बिनेसन र बेस्ट सङ फर सिङ्गिङ’, टिन च्वाइसअन्तर्गत ‘च्वाइस ल्याटिन सङ र च्वाइस समर सङ’ विधामा अवार्ड जितिसकेको छ।

    डेस्पासितोको लोकप्रियता जति छक्क पार्ने खालको छ, गीत सिर्जना कथा उत्तिकै रोचक छ।

    पुर्तोरिकन गायक तथा अभिनेता फोन्सीले दुई वर्षदेखि कुनै गीत निकालेका थिएनन्। लामो समयको अन्तरालपछि उनी विशेष गीत गाउन चाहन्थे। त्यही भएर सबैले गाउन सक्ने र नाच्न मिल्ने गीतको खोजीमा थिए।

    उनीहरू कस्तो गीत लेख्ने र गाउने भनेर आफ्ना साथीहरूसँग दिनरात छलफल गरिरहन्थे। २०१५ को अन्त्यतिरको कुरा हो। फोन्सी आफ्नै घरमा साथी एन्डरसँग एल्बमबारे छलफल गर्दै थिए।

    ‘म यस्तो गीत बनाउन चाहन्छु, जसमा ल्याटिन अनुभूति होस्, तर सबैले सजिलै गाउन सकून् र झुमी झुमी नाचून,’ उनले एन्डरलाई भने।

    ल्याटिन ग्रामी अवार्ड २०१६ की विजेता गीतकार एन्डरलाई फोन्सीले कोरस सुनाए। उनलाई मनपर्यो। त्यसपछि दुवै मिलेर यो गीतका शब्द रचे।

    फोन्सीले ब्यालेका रूपमा पहिल्यै ‘डेस्पासितो’ बनाइसकेका थिए। उनलाई त्यो खासै चित्त बुझेको थिएन। उनी त्यसमा आधुनिक शैली समेट्न चाहन्थे। र, यसैका लागि पहिले सँगै काम गरेका पुर्तोरिकन गायक, र्यापर तथा अभिनेता ड्याडी यांकीलाई सम्झे। चर्चित गीत ‘ग्यासोलिना’ का गायक यांकीको लयले डेस्पासितोको क्यानभासमा आधुनिक रङ थप्ने उनको विश्वास थियो।

    अनि सुरु भयो, फोन्सी र यांकीको डेस्पासितो यात्रा।

    उनीहरू बाँकी सबै काम थाती राखेर यसैमा समर्पित भए। दुवैको संयुक्त प्रयासबाट एउटा बिल्कुलै अलग, ऊर्जावान र रोमाञ्चक गीत बन्यो, जसले आज इतिहास रचेको छ।

    गीतसँगै फोन्सी र यांकीले पनि सफलता पाए। डेस्पासितोजस्तो गीत सायदै बन्छ, जो विश्वका धेरै देशमा गुन्जिन्छ। अंग्रेजी गीत मात्र विश्वव्यापी चर्चित हुन्छ भन्ने मान्यतालाई यसले सिधै खारेज गरेको छ। युरोप, अमेरिका, एसियाका अधिकांश ठाउँमा संगीत पारखीहरूको निम्ति रमाइलो क्षणलाई थप ऊर्जा दिने साथी बनेको छ, डेस्पासितो। जसको अर्थ जे होस्, यसको रफ्तारलाई तत्काल अरू गीतले भेट्ने सम्भावना कमै छ।

    डेस्पासितोका गायक तथा संगीतकार फोन्सीले यो गीतलाई रमाइलो पारामा रचना गर्नुको कारण पनि खुलाएका छन्।

    ‘ल्याटिनहरू सधैं खुसी रहने स्वभावका हुन्छन्, उनीहरूले संसारभरि यही परिचय बनाएका छन्, म ल्याटिनहरूको यो परिचयसँग मिल्दो यस्तो प्रेमिल गीत बनाउन चाहन्थेँ, जसलाई मान्छेले आफ्नो हरेक खुसीको क्षणमा गुन्गुनाओस्,’ उनले भनेका छन्।

    उनको यो प्रयास सफल भएको छ। साढे छ अर्ब हाराहारी भ्यू कमाएको यो गीतले संसारभरका संगीत पारखीलाई आफ्नो तालमा नचाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार