रियल म्याड्रिडलाई बचाउँदै थिबाउट कोर्टुवा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६

  • रियल म्याड्रिडले आइतबार ला लिगा अन्तर्गत सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई २-० ले पराजित गर्दा गोलकर्ता भिनिसियसको खुब चर्चा भयो । तर खेलमा रियललाई जित दिलाउन गोलरक्षक थिबाउट कोर्टुवाको पनि अहम भूमिका रहयो ।

    खेल बराबरीमा रहेको अवस्थामा कोर्टुवाले केहि सुन्दर बचाउ गर्दै बार्सिलोनालाई अग्रता लिनबाट रोकेका थिए । बार्सिलोनाले दवाव बनाइरहेको अवस्थामा पनि गोल गर्न नदिँदा दोस्रो हाफमा रियलले पकड जमाउन सकेको थियो । खेल अवधिभर कोर्टुवाले चार सुन्दर बचाउ गरे । उक्त प्रदर्शन जितको बलियो आधार पनि रहेको थियो ।

    सिजनको सुरुवातमा कोर्टुवाले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । निकै आलोचना खेपेका उनलाई पहिलो रोजाइमा राख्ने वा नराख्ने भन्नेमा नै दुविधा रहन थालिसकेको थियो । तर उनले आफ्नो प्रदर्शन सुधार्दै रियलको नतिजामा पनि प्रत्यक्ष प्रभाव जमाउँदै आएका छन् । उनको प्रदर्शनले रियलको रक्षात्मक प्रदर्शन पनि बलियो बनेको छ ।

    जारि सिजन खेलेको ३१ खेलमा चेल्सीका पूर्व खेलाडी कोर्टुवाले जम्मा २४ गोल खाएका छन् । यस क्रममा उनले १६ क्लिन सिट पनि राखेका छन् । ला लिगामा सर्वाधिक क्लिन सिट राख्ने गोलरक्षकले जमोरा ट्रफी पाउने गरेका छन् । यसपटक उक्त अवार्डको बलियो हकदारको रुपमा कोर्टुवा देखिएका छन् ।

    पछिल्लो चार सिजन यस अवार्ड एटलेटिको म्याड्रिडका गोलरक्षक यान ओब्लाकले जित्दै आएका छन् । रियल म्याड्रिडका गोलरक्षकले सन् २००७-०८ सिजनयता यस अवार्ड जित्न सकेका छैनन् । तर कोर्टुवा आफैंले भने एटलेटिकोबाट दुई सिजन खेल्दा यो अवार्ड हासिल गरेका थिए ।

    कोर्टुवाले बार्सिलोनाविरुद्ध यस सिजन खेलेका दुवै खेलमा गोल खाएनन् । हालसम्म क्लब इतिहासमा नै एकै सिजनको दुवै खेलमा गोल नखाएको तीन पटक मात्र छ । सन् १९३५/३६ मा दुवै खेल ३-० ले जित्दा, १९५७/५८ मा ३-० र २-० ले जित्दा तथा १९७४/७५ मा १-० र ०-० को बराबरी खेल्दा यो दुर्लभ अवसर देखिएको थियो । ४५ वर्षपछि रियलले बार्सिलोनाविरुद्ध दुवै खेलमा गोल नखाएको कीर्तिमान कोर्टुवाले कायम गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार