रियल मड्रिडका ‘लिजेन्ड’ अल्फ्रेडो स्टेफानो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज ९, २०७६

  • एजेन्सी । जसरी पेले, म्याराडोना र बोबी चार्लटनको नाम फुटबल जगतमा सम्मानका साथ लिने गरिन्छ, त्यसैगरी अर्जेन्टिनाका अल्फ्रोडो डी स्टेफानोको पनि  लिने गरिन्छ । स्टेफानोको अचम्मको शारीरिक अवस्था र नेतृत्व शैली सीपले उनलाई उत्कृष्ट खेलाडीको रुपमा राख्न मद्दत गर्यो । जसको कारणले गर्दा उनले सन् १९५७ र सन् १९५९ मा दुई बालोन डी’ओर प्राप्त गरेका थिए । यसैगरी उनले एकमात्र सुपर बालोन डी’ओर सन् १९८९ मा प्राप्त गरे । जुन सुपर बालोन डी’ओर अरु खेलाडीले पाएका छैनन् ।

    स्टेफानो सन् १९२६ मा अर्जेन्टिनामा जन्मिएका थिए । उनले आफ्नो सिनियर करियरको सुरुवात रिभर प्लेट क्लबबाट गरेका थिए । उनी रिभर प्लेटमा छँदा नै लोनमा एट्लेटिको हरिकेनमा आएका थिए । रिभर प्लेटमा फर्किनुभन्दा पहिले उनले हरिकेनको २५ खेलमा १० गोल गरिसकेका थिए । सन् १९४७ उनका लागि खास थियो । उनले रिभर प्लेटलाई प्रिमियर टाइटल जिताए भने अर्कोतिर आफ्नो राष्ट्रिय टिमबाट खेलेर अर्जेन्टिनाको लागि कोपा अमेरिका जिताए । कोपा अमेरिकामा उनले जम्मा ६ खेल मात्र खेलेका थिए । ६ खेलमा ६ मात्र गोल गरेका उनले अर्जेन्टिनालाई कोपा अमेरिकामा नवौँ टाइटल दिलाए ।

    सन् १९४९ मा उनी कोलम्बियाको क्लब मिलिनियरमा गए । जहाँ उनले चार वर्षमा ३ वटा लिग टाइटल जिते । उनले कोलम्बियाको राष्ट्रिय टिममा रहेर ४ खेल खेले । अर्जेन्टिनाको खेलाडी कोलम्बियामा गएर खेल्दा फिफाले थाहा पाएन । त्यो समयमा फिफाले खेलाडी चिन्नको लागि अस्वीकार गथ्र्यो । यसैगरी उनी पछि स्पेनको राष्ट्रिय टिममा पनि समावेश भएका थिए । कोलम्बिया र स्पेनको राष्ट्रिय टिममा खेल्नुभन्दा पहिला उनी अर्जेन्टिनाको राष्ट्रिय टिममा जम्मा ६ पटक खेलेका थिए । उनले अर्जेन्टिनाको लागि सन् १९४७ मा साउथ अमेरिकन च्याम्पियनसिप जिताएका थिए । उनले देशको लागि खेलेको यही एउटा मात्र प्रतियोगिता हो । उनी किन अर्जेन्टिनाको लागि विश्वकप खेलेनन् यो सबैको लागि चासोको विषय रहेको छ ।

    सन् १९५३ मा उनी स्पेनिस क्लब रियल मड्रिडमा आए । जहाँ उनको कपालको रङ र द्रुतगतिले गर्दा उनलाई ‘द ब्लोन्ड एरो’ भन्न थालियो । उनले रियललाई युरोपमा एकछत्र राज गर्नका लागि मद्दत गरे । उनका साथै पुस्कस र गेन्टोले सन् १९५३ र १९६४ को बीचमा रियललाई ८ ला लिगा टाइटल जिताएका थिए ।

    सन् १९५५ देखि १९६० को बीचमा रियलले ५ कन्सेप्टिक युरोपियन कप जितेको थियो । स्टेफानोले ५ वटा खेलमा नै गोल गरेका थिए । स्टेफानोको कारणले नै गर्दा रियलले पहिलो पटक यूरोपियन कप जितेको थियो । हालसम्म रियलले १३ च्याम्पियन लिग जितिसकेको छ ।

    यसमध्ये पाँच च्याम्पियन लिग स्टेफानोले रियललाई लगातार जिताएका थिए । आजसम्म कसैले पनि लगातार यति धेरै यूरोपियन कप जिताएको छैन । यूरोपियन कपको फाइनलमा सबैभन्दा बढी गोल गर्ने पनि उनै हुन् । स्टेफानोले रियलको लागि ३९६ खेलमा ३०८ गोल गरेर रेकर्ड बनाएका थिए । पछि उनको रेकर्ड राउल र रोनाल्डोले तोडेका थिए । उनी इतिहासका उत्कृष्ट नेतृत्वकर्ता पनि हुन् । सन् १९५७ र १९५९ मा उनी युरोपियन फुटबलर अफ द इयर बनेका थिए । स्टेफानोलाई रियल रियलको जग भन्दा केही फरक पर्दैन । उनले बलियो बनाएको रियलले आजसम्म आफ्नो प्रतिष्ठा जोगाइराख्न सफल भएको छ । रियललाई चुलीमा पुर्याउन स्टेफानोले नै महत्वपूर्ण भूमिका खेलेका थिए ।

    फुटबलबाट संंन्यास लिएपछि उनी बोका जुनियर्स, रिभर प्लेट स्पोर्टिङ र भ्यालेन्सिया जस्ता क्लबमा प्रशिक्षकका रुपमा काम गर्न थाले । उनले प्रशिक्षकको रुपमा काम गर्दा पनि सफलता हासिल गर्न छाडेनन् । स्टेफानोले जीवनमा धेरै सम्मान पाए । दुईवटा बालोन डी’ओर र एउटा सुपर बालोन डी’ओर प्राप्त गर्नुको साथै पाँच पटक पिचिची अवार्डबाट पनि सम्मानित भए । सन् २००४ मा उनी विश्वका उत्कृष्ट खेलाडीहरुको सूचीको चौथो स्थानमा परेका थिए । उनको मृत्यु सन् २०१४ मा हृदयघातको कारण भएको थियो । त्यतिबेला उनी ८८ वर्षका थिए । उनको मृत्युमा अलेक्स फग्र्युसन, पेले, क्रिस्टियानो रोनाल्डो, डिएगो म्याराडोना र बोबी चार्लटनजस्ता फुटबलका लिजेन्डहरुले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार