रियल म्याड्रिड छोड्दै गोलरक्षक केलर नाभास


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख ३१, २०७६

  • काठमाडौं, ३१ वैशाख ।   स्पेनिस क्लब रियल म्याड्रिडले गोलरक्षक केलर नाभासलाई क्लब छाड्न सुझाव दिएको छ । प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा चुनेपछि नाभासलाई क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो ।जनवरीमा मात्र नयाँ सम्झौता हस्ताक्षर गरेका नाभासले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो ।

    जिदानले गत साता मात्र कोर्टुवा नै आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेका थिए । कोर्टुवा यसै सिजन रियल आएपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

    यसै साता रियल बेटिसविरुद्ध उनले रियलका लागि अन्तिम खेल खेल्ने सम्भावना छ । सन् २०१५ मा पनि रियलले डेविड डे हेयालाई अनुबन्धन गर्न खोज्दा बेटिसविरुद्धको खेल नाभासको लागि अन्तिम हुने सम्भावना रहेको थियो । तर नाभासले रियलमा रहेर त्यसपछि पहिलो रोजाईका रुपमा आफुलाई स्थापित गरे ।

    नाभासले रियलमा रहेर ३ पटक च्याम्पियन्स लिग, एक पटक ला लिगा उपाधि, तीन फिफा क्लब विश्वकप तथा ३ पटक युरोपेली सुपर कप उपाधि जिते । सफलताको हिसाबमा उनले आफूलाई रियलका लागि सफल गोलरक्षकमा उभ्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार