रोनाल्डोले खेलकै क्रममा मैदानमै गरेको प्रस्तावका कारण युभेन्टस आएका डे लिट….


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • काठमाडौं । असार ३१  ।  इटालीयन जायन्ट युभेन्टसले दुई ठुला खेलाडी आफ्ना टोलीमा भित्र्याइ सकेको छ । क्रिस्टियानो रोनाल्डोलाई पनि मैदानमै गरिएको प्रयास मार्फत् भित्र्याएर बलियो बनेको क्लबले अर्का उदीयमान स्टार मेथ्थियास डे लिटलाई पनि मैदानकै प्रयासबाट टोलीमा ल्याएको थाहा भएको छ ।

    रोनाल्डोले खेलकै क्रममा मैदानमै आएको प्रस्ताव मार्फत् खेलजीवनको उत्तरार्धमा युभेन्टसलाई छानेका थिए । उनकै पदचिन्ह पछ्याउँदै डच फुटबल क्लब अयाक्सका १९ वर्षिय स्टार फुटबलर मेथ्थियास डे लिट पनि मैदानकै प्रारम्भिक प्रस्तावका कारण अन्ततः युभेन्टस नै आएको डे लिट ले नै खुलासा गरेका छन् ।

    यसअघि युरोपका ठुला क्लबहरुले पनि डे लिटलाई क्लबमा भित्र्याउन बलियो प्रयास गरेको बताईएको छ । अन्य क्लबको प्रयास ठुलै भएपनि डे लिटलाई भित्र्याउन युभेन्टस नै सफल हुनु मुल कारण स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो नै रहेको बताईन्छ ।

    केहि समयअघि भएको पोर्चुगल र नेदरल्याण्डस बिच भएको नेसन्स लिग फुटबल प्रतियोगिताको फाइनलपछि रोनाल्डोले व्यक्तिगत रुपमा नै डे लिटलाई क्लबमा आउन आग्रह गरेका थिए ।

    रोनाल्डोको प्रस्ताव आउँदाको क्षण सम्झँदै डे लिट भन्छन्, ‘मैले पहिला उनले भनेको नै बुझिन । म अलिकति आश्चर्यमा परें र हाँसे, तर मैले केहि भनिन ।’
    उनले थपे, ‘खेल पश्चात यो मात्र कुरासँग चासो रहँदैन । खेलमा भोगेको हारको कारण निरासा भएको बेलामा अन्य कुरामा ध्यान जाँदैन ।’

    पछि विभिन्न चरणको प्रयासपछि डे लिटले युभेन्टसको प्रस्ताव स्वीकारेका थिए । रोनाल्डोको प्रयास एजेन्टको भन्दा सफल भएको बताईन्छ । टोलीको आवश्यकता बुझेका उनले व्यक्तिगत रुपमै प्रयास गरेपछि डे लिटले अर्को विकल्पलाई ध्यान नदिएको बताएका छन् ।

    सानैदेखी रोनाल्डोको फ्यान रहेको बताउँदै डे लिट भन्छन्, ‘साथीहरुसँग बगैंचातीर फुटबल खेल्दा म सधैं रोनाल्डो बन्न चाहन्थें । त्यसबेला उनी मेनचेष्टरबाट खेल्ने गरेका थिए । ’ उनी थप्छन्, ‘मेरो जीवनकै पहिलो फुटबल टि शर्ट नै रोनाल्डोको नामको रहेको थियो । ’

    कलिलै उमेरमा नेदरल्याण्ड्सको क्लब अयाक्सको कप्तानी गर्दै क्लबलाई सफलता दिलाएका कारण उनको चर्चा ह्वात्तै चुलिएको छ । युभेन्टस बाहेक मेनचेष्टर सिटी, बार्सिलोना र पेरिस सेन्ट–जर्मेन (पीएसजी) पनि उनलाई भित्र्याउने दौडमा थिए ।

    ठुला क्लबहरुको तगडा भिडन्तमा युभेन्टसले बाजी मार्दै डे लिटलाई आफ्नो क्लबमा ल्याउन सफल भएका थियो । यसको कारण रोनाल्डो मात्र नभएर आर्थिक कारण पनि रहेको बुझिएको छ । क्लबले यि युवा स्टारलाई ७० मिलियन युरोको प्रस्ताव राखेको थियो । पाँचवर्षे करारको गर्न लागिएको क्लबले उनलाई प्रत्येक वर्ष १२ मिलियन युरो पारिश्रमीक दिने प्रस्ताव दिएको थियो ।

    पीएसजीले ब्राजिलियन स्टार नेमारबाट अपेक्षाकृत फाइदा लिन नसेकेपछि उनलाई बिक्री गर्दै डे लिटलाई ल्याउन खोजेको थियो भने बार्सिलोना पनि डे लिटको लागि बलियो प्रयास गरिरहेको थियो । त्यस्तै सिटीले पनि उनलाई भित्र्याउँदै क्लबको पुरानो लय फर्काउन प्रयास गरिरहेको थियो । तथापी डे लिटलाई धेरै दिंदा क्लबका अन्य बरिष्ट खेलाडीहरुको अवमुल्यन हुने भन्दै प्रस्ताव मुल्य बढाउन बार्सा तयार भएन ।

    युभेन्ट्सले च्याम्पियन्स लिग प्रतियोगिताको उपाधि जित्नको लागि हरसम्भव प्रयास गरिरहेको छ । गत सिजनको उक्त प्रतियोगितामा डे लिटका क्लब अयाक्सले क्वार्टरफाइनलमा युभेन्टसलाई पराजित गर्दै इटालीयन क्लबको सपना तोडेको थियो । उक्त खेलमा डे लिटले अद्भुद प्रदर्शन गरेका थिए ।

    यो सिजनमा डे लिट पनि भित्र्याइसकेको युभेन्टसको आगामी प्रदर्शन हेर्न फुटबल वृत्त आतुर रहेको बताईन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार