ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३०, २०७७

  • corona

    ललितपुर, ३० असोज । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो । त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर फर्कनेको सङ्ख्या दुई हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

    ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाहो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उनले बताए । यसैगरी महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी गराए ।

    यसैगरी महानगरपालिकामा सङ्क्रमित सङ्ख्या तीन हजार ४२८ पुगेको छ । तीमध्ये कोरोना निको भई घर फर्कनेको सङख्या एक हजार ७३१, सक्रिय सङ्क्रमित एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ ।

    बिहीबार महानगरपालिकामा भेटिएका ८२ सङ्क्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको र्‍यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन् । ”यहाँ कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छौं’, गुरुङले भने । गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ३८२ पुगेको छ । ती मध्ये निको भई घर फर्कनेको सङ्ख्या २१५ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ ।

    महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २५६, सङ्क्रमित ३५७ र मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए।

    अर्कातर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । वाग्मती गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताए।

    महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको सङ्ख्या नौ र सक्रिय सङ्क्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार