विवाह उत्सवमा रमाउँदै प्रियंका-आयुष्मान…


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १४, २०७६

  • नायिका प्रियंका कार्की बिहीबार दोस्रो वैवाहिक जीवनमा बाँधिदैछिन्। उनी नायक आयुष्मान देशराज जोसीसँग दोस्रो विवाह गर्दैछिन्, जसका लागि उनीहरू विवाहको अन्तिम तयारीमा छन्। यसै सन्दर्भमा आयुष्मान र प्रियंकाको विहेको रौनकले उनीहरूका आफन्त, साथीभाइ तथा नेपाली फिल्मकर्मीलाई पनि छोएको छ।

    यो जोडीले मङ्‌गलबार एक होटलमा मेहेन्दी समारोह सम्पन्न गर्‌यो, जहाँ उनीहरूका आफन्त, साथीभाइ तथा केही फिल्मकर्मीको समेत उपस्थिति देखिन्थ्यो। उक्त समारोहपछि सार्वजनिक भएका तस्बिर र केही भिडियो फुटेजमा विवाहको रौनक केही फरक र उल्लासमय देखिन्छ। नेपाली संस्कारभन्दा फरक विशेषता पनि उनीहरूको गतिविधिबाट नियाल्न सकिन्छ।

    मङ्‌गलबारको मेहेन्दी समारोहमा नायिका कार्कीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् भने, आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखे। यस सम्बन्धमा विभिन्न तस्बिर बाहिर आएपछि बेहुलीपक्षले मेहेन्दी लगाएको स्वाभाविक भए पनि बेहुलाले मेहेन्दी लगाएकोमा भने सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन्।

    मेहेन्दी समारोहपछि उनीहरूको भारतीय विवाह संस्कारमा देखिने सङ्‌गीत समारोह चलेको थियो। जहाँ, प्रियंका, आयुष्मानलगायतले नृत्य प्रस्तुत गरेका थिए। गत वर्ष नै ‘इन्गेजमेन्ट’ गरेको यो जोडीले बिहीबारको विवाह कार्यक्रमपश्चात् शुक्रबारका लागि भोज कार्यक्रम तय गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार