सत्ताको कहर, ईश्वर पोखरेलको रहर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ ९, २०७७

  • काठमाडौं, ९ भदौ । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला नाताले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी पर्छन् । सरकारले हाल बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई राजश्व बोर्डमा पठाएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

    गत सोमबार मन्त्री स्तरको निर्णयले कोइरालालाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो । बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बताइएको छ । राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो ।

    बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिले नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो ।

    चर्चा र विवादमा उपेन्द्रकुमार कोइराला

    नाताले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालाका हरेक नियुक्ति चर्चा र विवादमा रहे । बिगत २६ वर्ष यता कोइरालाले बिभिन्न महत्वपूर्ण स्थानमा नियुक्ति पाउदै आएका छन् । २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकार हुँदा खाद्य संस्थानको महाप्रवन्धक नियुक्त भए । यसपछि महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाएका कोइरालाले नियुक्ति पाउने क्रम चलिरह्यो । इश्वर पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेपछि कोइरालालाई नेपाल आयल निगमको कार्यकारी अध्यक्ष बन्ने चिठ्ठा परेको थियो ।

     

    २०६२/६३ को जनआन्दोलनपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएपछि कोइराला विवादमा मुछिएका थिए । त्यसबेला उनलाई भ्रष्टाचारको गरेको आरोप लागेको थियो । तर पनि इश्वर पोखरेलसँग पारिवारिक साइनो गासिएका कारण उनको भाग्य चम्किरह्यो । पटक–पटक भ्रष्टाचारको आरोप लागेका विवादित कोइरालाले राज्यका महत्वपूर्ण स्थानमा नियुक्ति पाईरहे ।

    मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति छँदा कोइरालाविरुद्ध आर्थिक अनियमितताको आरोप लागेको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । विवादित कोइराला तत्कालिन नेकपा एमालेबाट सबैभन्दा बढी राजनीतिक नियुक्ति पाउने व्यक्तिमा पर्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार