सबै स्थानमा आफ्नै वडा भवन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १६, २०७७

  • वाग्मती, १६ पुस : वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ ।

    गाउँपालिकाले आफ्नै लगानीमा छ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो । वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/०७८ को बजेटमा गाउँपालिकाले रु एक करोडका दरले रु पाँच करोड विनियोजन गरेको थियो थियो । रु एक करोड जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि छ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

    ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन् । मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार