सीमा नाकाबाटै नेपालीलाई भारतीयले फिर्ता पठाए


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक ३०, २०७७

  • कञ्चनपुर, ३० कात्तिक । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो । यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हँुदै भारततर्फ जाँदै आएका थिए । जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् ।

    भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले जानकारी दिनुभयो । “व्यक्तिगतरूपमा बुझ्दा मेडिकल र अध्यागमनको टोली नआएकाले प्रवेश नदिइएको भन्ने कुरा बुझिएको छ”, उहाँले भन्नुभयो, “सीमा नाका प्रवेशमा नेपालीहरुलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी भने प्राप्त हुनसकेको छैन, मेडिकल र अध्यागमनको टोली आजसम्म आए प्रवेश दिइने भन्ने छ, पछि थाहा हुन्छ ।”

    उहाँका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरुको सङ्ख्या ३० देखि ५० जना जति रहेको छ । दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपालीहरु सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार