सुरक्षित आवास गृह स्थापनापछि पीडितलाई सहज


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ २५, २०७७

  • दार्चुला, २५ भदौ । लेकम गाउँपालिकाका एक महिला आफन्तबाटै बलात्कृत भएपछि विचल्लीमा परेकि छिन् । श्रीमान् भारतमा मजदूरी गर्न गएका बेला आफन्तबाटै बलात्कार भएर बच्चा जन्मिएपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयसम्म पुगेर कहाँ बसौँ भएको थियो ।

    आफुमाथि बलात्कार गर्नेविरुद्ध उजुरी त गरे तर जिल्लामा कहाँ बस्ने, के खाने उहाँलाई केहि थाहाँ थिएन । उजुरीपछि समस्यामा परेका ती महिलालाई जिल्ला प्रहरी कार्यालयले जिल्लामै स्थापना भएको सुरक्षित आवास गृहमा बस्न सुझाए । उजुरीपछि दुई पटक खलंगा आउनुभएकी ती महिला खलंगाको तिंकर खेडा नजिकै स्थापना भएको सेफ हाउसमा सुरक्षित तवरले बसे । होटलमा बस्नुपर्ने र पैसा नहुनेका लागि अहिले सुरक्षित आवास गृह पीडितका लागि सहज बास भएको छ ।

    गत वर्ष सामाजिक सशक्तिकरण तथा महिला सचेतना संस्थाले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सुरक्षित आवास गृह ९सेफ हाउस० स्थापनाका लागि सहयोग गरेपछि अहिले पीडितका लागि सहारा बनेको छ ।

    सदरमुकाम खलंगाजस्तो ठाउँमा महंगो मूल्य तिरेर पीडितले खान बस्न पनि सक्दैनन् भने पीडित महिलाले होटलको बास बस्नु झन असुरक्षित हुन्छ । यही समस्याका कारण जिल्लामै सुरक्षित आवास गृह स्थापनाका लागि आग्रह गरिएपछि प्रदेश सरकारले सहयोग गरेको आवास गृह सञ्चालक भगवती बडालले बताउनुभयो । उक्त गृह स्थापना भएपछि गत वर्ष मात्रै १० पीडित महिलाले सेवा पाएका छन् ।

    अझै सबै पीडित महिलालाई जिल्लामा सुरक्षित आवास गृह छ भन्ने चेतना पुगेको छैन् । विस्तारै महिलालाई जानकारी हुँदा उनीहरु यहाँ आउन थालेका बडाल बताउछन् । सबै स्थानीय तहमा प्रचारप्रसार गर्न सके र जनचेतनामूलक कार्यक्रम गर्न सकिए भने सदरमुकाम खलंगामा आउने पीडित महिलाका लागि सहज सेवा उपलब्ध हुने उहाँको भनाइ छ ।

    गत आवमा लेकम गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यखिशर नगरपालिका र सिन्धुली तथा सिन्धुपाल्चोक जिल्लाका पीडित महिलालाई सो गृहमा राखिएको सञ्चालन बडालले बताए ।

    चालू आवको हालसम्म महाकाली नगरपालिकाका दुई जना आवास गृहमा बसेका छन् । उक्त गृहले पीडितलाई बढीमा अहिले १५ दिनसम्म निःशुल्करुपमा खान बस्नको व्यवस्था गरिएको छ । साथै पीडितलाई आवत–जावत खर्च, उपचार खर्चसमेत उपलब्ध गराइने गरिएको बडालको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार