स्टुडेन्ट भिसामा अस्ट्रेलिया आउनुअघि यी कुरामा ध्यान दिनुहोस् :


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • सरकारी मान्यता नभएको अस्ट्रेलियाको एउटा तालिमे नर्सिङ कलेजमा अध्ययनरत एक हजार भन्दा बढी नेपाली विद्यार्थीहरुको भविष्य अन्योलमा पर्‍यो । नेपाली दुतावास, एनआरएन र सम्बिन्धित निकायले यो समस्याको समाधानका लागी पहल थाले । पीडित विद्यार्थीहरुको पछिल्लो अवस्था के छ ? यसबारे एनआरएनए, अस्ट्रेलियाका प्रबक्ता डिला खरेलसंग फ्रन्टलाइन नेपालले कुराकानी गरेको छ । नेपालमा भरतपुर स्थायी ठेगाना भएका खरेल अस्ट्रेलियास्थित इन्नोभेटिभ एसोसियट्सका प्रिन्सिपल पनि हुन् ।

    अस्ट्रेलियामा पछिल्लो समय बिचल्ली परेका विद्यार्थीहरुको अबस्था कस्तो छ ?
    पछिल्लो समयमा धेरै विद्यार्थीहरुले सम्बन्धित कलेजलाई अनुरोध गरि आफ्नो क्रेडिट ट्रान्सफर लिएर अर्को कलेज पढ्ने संगसंगै कलेजको तथा सम्बन्धित शैक्षिक परामर्शदाताको सल्लाह र सुझाव अनुसार नै अगाडी बढ्ने तयारी गरि राख्नु भएको छ

    पीडित विद्यार्थीहरुको समस्या कसरी समाधान हुन्छ ?
    उनीहरुको समस्याको प्राविधिक र कानुनी पक्षलाई ध्यान दिई समाधान गर्नुपर्छ । र, समस्याको समधान कलेज, विद्यार्थी, परामर्शदाता सहितको निरन्तर छलफल र आवश्यक प्रक्रियाबाट समाधान हुन सक्छ । अझ अहिलेको परिस्थितिमा नेपाल सरकार, राजदुतावास, एनआरएन अस्ट्रेलिया र अस्ट्रेलियन सरकारको सम्बन्धित विभागले समेत संलग्न भै विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग पुग्ने गरि काम थालनी गरेकोले समस्याको उचित समाधान हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

    विद्यार्थीहरुको पैसा फिर्ता हुन्छ कि हुदैन ?
    कलेजको नियम अनुसार र ट्युसन फि सम्वन्धि कलेजहरुलाई समेत नियमन गर्ने निकाय ट्युसन प्रोटेक्सन सर्भिसेसको नियमानुसार हुन्छ (सम्वन्धित विद्यार्थीले कति फि तिरे, कुन–कुन विषय पढे भन्ने प्राविधिक पक्षलाई हेरी सोहि अनुसार विद्यार्थीको फि सम्वन्धमा निर्णय हुन्छ भन्ने मलाई लाग्छ ।

    अफ्ठ्यारोमा परेका विद्यार्थीहरुको अर्को कलेजमा ट्रान्सफर गरिन्छ कि ?
    यो विद्यार्थीको इच्छा, सम्बन्धित कलेजले रिलिज दिएर अन्यत्र शैक्षिक संस्थाले अध्ययन अनुमति दिएको सन्दर्भमा हुन सक्छ ।

    स्टुडेन्ट भिसामा अस्ट्रेलिया आउनुअघि के–के कुरामा ध्यान दिनुपर्छ ?
    एकदमै महत्वपूर्ण विषय हो यो । विद्यार्थीका रुपमा अस्ट्रेलिया आउनु पूर्व निम्नलिखित कुराहरुमा ध्यान दिनु आवश्यक छ ।
    -आफ्नो कलेज वा विश्वविद्यालयका बारेमा पूर्ण जानकारी लिने

    -आफ्नो अध्ययनको पूर्ण कोर्ष ,सम्वन्धित विषयहरु र पढाइपश्चात पनि आफ्नो शैक्षिक योग्यताको मान्यता अस्ट्रेलिया सरकारले दिने नदिने बारे पूर्ण रुपमा वुझ्ने

    -आफ्नो उद्देश्य र लक्ष्यका वारेमा पूर्ण रुपमा स्पष्ट दृष्टिकोण राख्ने

    -अस्ट्रेलियाका जीवनयापन सम्वन्धि सामान्य नियम कानुनको जानकारी लिने (कामका कुरा, बसाईका कुरा, कलेजहरुका नियमका कुरा)

    -यदि आफ्ना आफन्तहरु कोहि अस्ट्रेलियामा छन् भने नियमित सम्पर्कमा बसेर उनीहरुसंग सर सल्लाह र वास्तविक जानकारी लिने

    उपयुक्त कसरी कलेज छनौट गर्ने ?
    आफ्नो शैक्षिक योग्यता, भविष्यको उद्देश्य र सपना अनुसार आफ्नो मन परेको र नेपालमा पढेको विषय, ज्ञान र अनुभवको क्षेत्र अनुसारको विषय अध्यन अध्यापन हुने शैक्षिक संस्थामा आउनु राम्रो हुन्छ ।

    अस्ट्रेलियामा पढ्दै कमाउन कत्तिको गारो छ ?
    सामान्यतया गार्‍है हुन्छ । अझ यो समय र पढाइ व्यवस्थापनको कुरा हो कस्तो काम पाइन्छ, कति समय दिन सकिन्छ त्यस अनुसार भर पर्छ ।

    अस्ट्रेलियामा कस्तो प्रकारको काम पाउने सम्भाबना हुन्छ ?
    हरेक किसिमका कामको लागि आफू तयार हुनुपर्छ । हस्पिटालिटीका, किचनका , कुकिङ्गदेखि सरसफाई, डेलिभेरी गर्ने, कस्टमर सर्भिस र योग्यता, सीप र क्षमता अनुसारका विविध काम पाइन्छन् ।

    एक घन्टा काम गरेको कति पैसा आउछ ?
    त्यो त कामको प्रकृति अनुसार, कामको क्षेत्रको अनुसार पर आवर रेट फरक–फरक हुन्छ । सामान्य काम गरेर पनि दैनिक जीवनयापन गर्न समस्या भने पर्दैन ।

    अस्ट्रेलियन पिआर पाउन कति गार्‍हो छ ?
    यो प्राविधिक विषय हो । सम्वन्धित निवेदकले अस्ट्रेलिया सरकारले तोकेको नियम कानुनको परिधिभित्र रहेर यदि योग्य छन् भने पिआरका लागी निवेदन दिन सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार