स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ १४, २०७७

  • काठमाडौँ, १४ भदौ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन् ।

    क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारवाही हुने बताए । ‘स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन गर्न सकिदैन’, उनले भने, ‘यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।’

    कोभिड–१९ सँग लड्ने हतियारका रुपमा देशभरका स्वास्थ्यकर्मीमाथि पटक–पटक भै रहेको दुर्व्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने हुँदा यस्ता आदेश गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो । उनले स्वास्थ्यकर्मीले जुनसुकै अवस्थामा पनि आपूmहरु काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने व्यवहारले आहात हुने गरेको उल्लेख गरे ।

    कोभिड–१९ बाट पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा उपचार दिने, परीक्षण गराउने, स्वास्थ्यकर्मीलाई चाहिने मास्क र पिपिईजस्ता सामग्री दिने निर्वाध रुपमा उपलब्ध गराउने जिम्मा सरकारको भएको हुँदा व्यवस्थापन मिलाउन आफू तयार रहेको उनको भनाइ थियो ।

    मानव अधिकारका लागि एक महिला संस्थाका संस्थापक अध्यक्ष लिलि थापाले स्वास्थ्यकमीमाथि भएको दुर्व्यवहार निन्दनीय भएको उल्लेख गरे । शहीद गङ्गालाल अस्पतालका डा नृपेश अधिकारी, सिभिल अस्पतालका स्टाफ नर्स सोना महर्जन र बी एण्ड बी अस्पतालका मेडिकल अधिकृत डा आकृति जोशीले चिकित्सकले पछिल्लो समयमा समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरेको र घरबेटीले घरमा नबस्न भनेको अनुभव सुनाए ।

    नेपाल नर्सिङ सङ्घका उपाध्यक्ष मीना बानियाँले अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको बीमा, भत्ता र स्वास्थ्यको विषयमा पनि गम्भीर भएर सरकारसँग वार्ता गरिरहेको जानकारी दिए ।

    डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोनाकाल बिताउन अभिशप्त भएकाले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान र प्रेरणा मिलोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार