हिलोमाथि रातो कार्पेट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २५, २०७६

  • काठमाडौं । असार २५ ।  मुसलधारे वर्षा भइरहेको थियो।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको निर्माणाधीन उपकुलपति कार्यालयमा बुधबार बिहानै सुरक्षाकर्मी र त्रिविका पदाधिकारी जम्मा भइसकेका थिए।

    केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओली उपकुलपति कार्यालय पुगे। कार्यालय अगाडि हिलै हिलो। प्रधानमन्त्री आउने भएकैले हुनुपर्छ, बाटोमा स-साना ढुंगा ओछ्याइए पनि त्यसले हिलो थेगेको थिएन।

    प्रधानमन्त्री आए, त्रिवि पदाधिकारीले फूल र रुद्राक्ष माला लगाइदिएर स्वागत गरे।

    उनले उपकुलपति कार्यालय भवन उद्घाटन गरे। हिलो छेक्न ओछ्याइएको रातो कार्पेटमा टेक्दै अलि पर कुनासम्म पुगे। त्यहाँ सरस्वती मन्दिर बनाइएको थियो। प्रधानमन्त्रीले त्यो पनि उद्घाटन गरे।

    त्यसपछि कुलपतिसमेत रहेका ओलीको अध्यक्षता र सहकुलपति शिक्षा, विज्ञा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको सहअध्यक्षतामा सिनेट बैठक बस्यो।

    बैठकको सुरुमा उपकुलपति तीर्थ खनियाले ६ पृष्ठ लामो लिखित मन्तव्य दिए। जसमा उनले कार्यकाल सम्हालेदेखि अहिलेसम्मका विषयवस्तु समेटेका थिए।

    ‘त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउने दिशामा क्रियाशील छौं,’ उनले भने, ‘त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र पर्न सफल भएको छ।’

    यसो भन्दा खनियाले त्रिविभित्रका विकृति र समाधानबारे भने खासै बोलेनन्।

    शिक्षामन्त्री पोखरेलले देशको समग्र शिक्षा नीति बनाउन मन्त्रालय लागिपरेको बताउँदै त्रिविमा पनि सुधार आउनुपर्ने सुझाव दिए। ‘हिजोकै जस्तो ढंगले अब त्रिवि चल्न सक्दैन। डिनहरूलाई नयाँ ढंगबाट सोच्न अनुरोध गर्छु,’ उनले भने।

    उनका अनुसार विश्वविद्यालय, औपचारिक र अनौपचारिक शैक्षिक संस्था तथा तीनै तहको सरकारमा कस्तो शिक्षा नीति चाहिन्छ भन्नेबारे मन्त्रिपरिषदमा छलफल हुँदैछ।

    प्रधानमन्त्री ओलीले भने प्राविधिक शिक्षामा जोड दिए। ‘शिक्षा क्षेत्रमा मात्रै धेरै जनशक्ति उत्पादन भएका छन्। देशलाई के-के जनशक्ति चाहिएको छ, त्यसअनुसार उत्पादन गर्नुपर्छ,’ उनले भने।

    सरकार व्यवस्थित र परिमार्जित शिक्षा नीतिको पक्षमा रहेको उनले बताए। त्रिविमा हुने गरेका बेथितिबारे धारणा राख्दै उनले भने, ‘बेथिति र अनियमितता भयो भने कसैलाई छुट दिइँदैन।’ कुनै आग्रह वा पूर्वाग्रह नराखी त्रिविको गुणस्तर वृद्धि गर्ने काममा सरकार लाग्ने उनले बताए।

    ‘शैक्षिक संस्था पवित्र मन्दिरका रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘जायज कुरा छन् भने म शीर झुकाएर मान्न तयार छु। राम्रो काम गर्नेलाई पुरस्कृत गरिन्छ, नराम्रो गर्नेलाई कारबाही। राजनीतिक आस्थाकै कारण कसैलाई भेदभाव गरिँदैन।’

    त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीले भावनात्मक मन्तव्य राखिन्। त्रिविले आफ्नै भौतिक सम्पत्ति रक्षा गर्न नसकेको उनको भनाइ छ। ‘हाम्रा आँगनमा आएर अर्काले खाँबो गाड्दा पनि हामी चुप्पै लागेर बस्नुपर्ने अवस्थाबाट मुक्ति चाहेका छौं,’ उनले भनिन्।

    उनले रामपुर कृषि क्याम्पसको जग्गा रक्षा गर्न नसकिएको उदाहरण दिइन्। यहाँ त्रिविको जग्गामा क्रिकेट रंगशाला निर्माण हुँदैछ।

    ‘सबैले छातीमा हात राखेर सोच्ने बेला आएको छ, कृषि क्याम्पसको गौरव थामिन सकेको छ?’ उनले उपकुलपतिसामु प्रश्न गरिन्, ‘घरसल्लाह गर्ने परम्परा थालनी गरौं।’

    उनले त्रिविभित्र मनमुटु दुख्ने गरी अनेकथरि पीडा भइराखेको बताइन्।

    ‘हाम्रा खेत खलियानमा बाढी पसिरहेछ। कान्ला सुर्काहरूलाई पहिरोले तानिरहेछ। हामी गुन्द्री, भकारी बोकेर गोठ सरिरहन बाध्य छौं,’ त्रिविको बेथितिलाई घुमाउरो ढंगले व्यक्त गर्दै त्रिपाठीले थपिन्, ‘कुलपतिज्यू, त्रिविको बा भने पनि हजुरबा भने पनि यहाँ नै हुनुहुन्छ। हामीलाई अभिभावक चाहिएको छ। हिजो राणाकालमा जनतालाई छोरीबुहारी जोगाउन गाह्रो भएजस्तै भएको छ आज त्रिविलाई पनि।’

    उनले त्रिविको ६० औं उत्सव टुंग्याउनुअघि कुलपतिसमेत उपस्थित सिनेट सदस्य र सहभागीलाई ‘ह्ययाप्पी बर्थ डे टू यू त्रिभुवन युनिभर्सिटी’ भन्न लगाइन्।

    लगत्तै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले ह्ययाप्पी बर्थ डे टू यू त्रिवि भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार