हुवावे भन्छ : उपभोक्ताले चिन्ता लिनु पर्दैन”


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  अब हाम्रो स्मार्टफोनको भविष्य के हुन्छ ? ह्वावेको भविष्य के हुन्छ ? आउने स्मार्टफोनको के हुन्छ ?’ हुवावेका स्मार्टफोन प्रयोग गर्ने विश्वका करोडौं उपभोक्ताको जिज्ञासा मेटाउनमै दुई सातादेखि व्यस्त छन् ह्वावेका अधिकारीहरू । यीनै प्रश्नको सेरोफेरोमा विश्वभरका मिडियाका सामग्रीहरू पनि केन्द्रीत छन् । तर, अब भने प्रश्नको उत्तर हैन, प्रतिप्रश्न गर्न थालेका छन्, ‘हामीमाथि बन्देज किन?, असुरक्षाको आरोप प्रमाणित गर्ने प्रमाण खै?’

    दुई हप्ताको अवधिमा ह्वावेका पटक पटकका प्रेस वक्तव्य, अन्तरवार्ता हुँदै बुधबार सेन्जेनमा आयोजित पत्रकार सम्मेलनसम्ममा आइपुग्दासम्मको सन्देश हो, ‘ह्वावेका उपभोक्ता आत्तिनु पर्दैन, यो मात्र अमेरिकाले ह्वावेको बिजनेसमाथि गरेको आक्रमण मात्र हो ।’ ह्वावेका अधिकारीहरूले एन्ड्रोइडले ९० दिनको समय राखेर ह्वावे माथि अवरोधको संकेतपछिको एक साता उपभोक्ताको जिज्ञासा मेटाउन नै बढी केन्द्रीत भएका देखिए । गुगलले ९० दिनपछि विक्री भइसकेका स्मार्टफोनमा समेत अपरेटिङ सिस्टमले काम नगर्ने सन्देश विश्वभर जान थालेपछि सुरुका दिनमा उपभोक्तालाई स्पष्ट पार्नमै केन्द्रीत रहेको ह्वावेका स्टेटमेन्टहरूले देखाउँछन् ।

    ह्वावेमाथिको अमेरिकी प्रतिबन्धको खबरले नेपालमा पनि बजार तातेको छ । नेपालमा करिब १० लाखको संख्यामा रहेको अनुमान छ । यद्यपी कम्पनीले आधिकारीक तथ्यांक भने सार्वजनिक गरेको छैन । “उपभोक्ताको चिन्ताप्रति हामी आभारी छौं, ह्वावेका लागि उपभोक्ता प्रमुख हुन्, विश्वभरका उपभोक्ताको चिन्ता हटाउन हामी अझ बढी चिन्तित छौं,” ह्वावेका नेपाल निर्देशक जोयस जुले भने, “विक्री भइसकेको कुनै पनि सेटमा पछिल्लो सन्दर्भले असर गर्दैन ।” उनले आगामी दिनमा बजारमा आउने स्मार्टफोनमा के हुने भन्ने विषयले विक्री भैसकेका सेटमा लागू नहुने भएकाले ढुक्कले ह्वावेका स्मार्टफोन प्रयोग गर्न अनुरोध गरे ।

    एन्ड्रोइडले पनि हालसम्म विक्री भइसकेका सेटहरूमा ह्वावेसँगको आगामी सम्बन्धले असर नगर्ने भन्दै यसअघि स्पष्ट पारिसकेको छ । अपरेटिङ सिस्टममा पर्ने असर भन्दा बढी असर यतिबेला ह्वावेको विक्रीमा भने परेको छ । गत वर्षको आन्तिम चौमासदेखि यो वर्षको पहिलो चौमासमा एप्पललाई उछिन्दै सामसङपछि दोस्रो स्मार्टफोट विक्रेता बन्दै आएको ह्वावेको चिन्दा सफलताको निरन्तरतामा भने छ । गत वर्ष भर मात्र २ सय मिलियन थान स्मार्टफोन विक्री गरेको ह्वावेले यो वर्षको पहिलो चौमासमा मात्र ५९ मिलियन थान स्मार्टफोन विक्री गरेको छ । पछिल्लो पछिल्लो चार वर्षमा मात्र विश्वभर ६ सय मिलियन भन्दा बढी स्मार्टफोन विश्व बजारमा पुगेका छन् । आफ्नै अपरेटिङ सिस्टम लिएरै भए पनि उपभोक्तालाई पूर्ण सन्तुष्ट पार्ने प्रतिवद्धता ह्वावेका अधिकारीहरूले बताइरहेका छन् ।

    ह्वावेको तर्फबाट प्रतिक्रिया दिइरहेका अधिकारीहरूले हुवावेइले आफ्नो व्यवसाय सञ्चालनमा अवरोध सिर्जना गर्न खोजेको भन्दै अमेरिकी अदालतसम्म जाने बताएका छन् । हवावेईका उपाध्यक्ष केन हुले जर्मनीमा आयोजित राष्ट्रिय साइबर सुरक्षा पोस्टडाम सम्मेलनमा यसैसाता अमेरिकाले ह्वावेसँग गरिएक व्यवहारहरू अन्याय पूर्ण भएको बताएका छन् । अमेरिकाले ह्वावेमाथि लगाएको बन्देज अन्तर्राष्ट्रिय मूल्य मान्यता विरूद्ध रहेको र स्मार्टफोन बजार हुवावेइको हिस्सा खोस्न यो तरिका भएको उपाध्यक्ष केनले भनेका छन् । ह्वावेले सामना गरेको समस्या अन्य जुनसुकै कम्पनीले जुनसुकै बेला भोग्न पर्ने हुन सक्ने केनले अनुभव जनाए ।

    विश्वलाई द्रुतगतिको प्राविधिक सिर्जनशीलता र बलियो आर्थिक बृद्धिलाई प्रवद्र्धन गर्ने एक एकीकृत विश्व प्रणालीको आवश्यकता रहेको उनले बताए । ह्वावेका अधिकांश साझेदारले उससँग रहने प्रतिबद्धता जनाएका छन् । यसले विश्व व्यवस्था र विश्व बजारलाई सन्तुलित र स्वथ्य राख्न मदत गर्नेमा ह्वावेको विश्वास रहेको छ । उपाध्यक्ष केनको भनाइकै शैलीमा ह्वावे प्रमखु कानून अधिकृत सङ लिउपिङले अमेरिकाले आफ्नै संविधान विपरित कानून बनाएर ह्वावे माथि आक्रमण गरेको भन्दै यसको विरुद्ध अमेरिकी अदालतमा जाने बताएका छन् । “प्राइभेट कम्पनी (ह्वावे) का विरुद्धमा आज अमेरिकाले सम्पूर्ण उपाय लगाइरहेका छन् र हामीलाई विजनेसबाट बाहिर धकेल्न खोजिरहेका छन्,” बुधबार चीनको सेन्जेनमा गरिएको पत्रकार सम्मेलनमा उनले भने, “यो सामान्य कुरा होइन, यस्तो इतिहासमा देखिएको थिएन । तर, तथ्य यो होकी अमेरिकी सरकारले ह्वावेका कारण सुरक्षा खतरा छ भन्ने प्रमाण अझै दिन सकेको छैन ।”

    अमेरिकी कंग्रेसले पास गरेको २०१९ सेक्सन ८८९, नेसनल डिफेन्स अथोराइजेसन ऐन (एडीएए) नै ह्वावेलाई अमेरिकामा व्यापार गर्न नदिने मनसायले ल्याइएको अमेरिकी संविधान विपतिको कानून भएको बताएका छन् । यसबीच ह्वावेका बारेमा मिश्रित प्रक्रिया दिनेदेखि समर्थनमा बोल्नेहरू पनि बाहिर आउन थालेका छन् । मलेसियन प्रधानमन्त्री मोहम्मद महाथिरले आफ्नो मुलुकले ह्वावेका उपकरणहरू खुलेर प्रयोग गर्ने बताएका छन् । जापानमा एक कार्यक्रमका बीच बोल्दै उनले ह्वावेका सामान ‘जति सक्दो ढुक्कसाथ प्रयोग गर्ने’ बताएका हुन् ।

    ह्वावेमाथिको प्रतिवन्ध चीन अमेरिका व्यापार युद्धको नयाँ चरणका रुपमा विकसित भएको छ । तिब्र गतिको इन्टरनेटको युगमा विश्व प्रवेश गरिरहँदा पछिल्लो समयमा विकास भएको फाइभ जीको नेतृत्व कस्ले गर्ने भन्ने भित्री मनसायका बीच देखिएको ह्वावेमाथिको प्रतिबन्ध हो । यसले भविष्यमा विश्व व्यापार, प्रविधि विकास र प्रविधिको प्रयोगसम्बन्धि अन्तर्राष्ट्रिय कानुन निर्माणको लागि पनि बहस सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ । र, ह्वावेमाथिको अपरेटिङ सिस्टमबारेको मुद्दा टुंगो लगाउन गुगलको भूमिका महत्वपूर्ण रहन्छ । किनकी एउटा ट्वीट लेखेर पुराना सेटहरूमा असर गर्दैन भन्ने सन्देश बाहेकको विकसित प्रसंगका विषयमा आफ्नो धारणा गुगलले राखेको छैन । गुगलको धारणाले पनि ह्वावेको स्मार्टफोनका विषयमा छिटो निर्णय गर्न सहयोगी हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार