हेटौँडामा निषेधाज्ञा थप भदौ ९ गतेसम्म


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३२, २०७७

  • हेटौंडा, ३२ साउन । मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।

    निषेधाज्ञा विगतका तुलनामा कडा पारिने उहाँको भनाइ छ । निषेधाज्ञा समयमा बिहान ५ देखि ८ बजेसम्म पसल खुला रहने छ । त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ ।

    साथै उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरवाट भित्र तथा जिल्लाभित्रबाट बाहिरको आवागमन पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार