मेहँदीका फाइदाहरु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  ।  साउन महिना नारीका लागि विशेष मानिन्छ। यो महिनामा नारीहरु व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिनुका साथै शृंगारमा पनि रङको विशेष संयोजन मिलाउँछन् । त्यसैले नारीका लागि साउन महिनामा मेहँदीको विशेष महत्व रहने गर्छ ।

    धर्म, संस्कृति र सौन्दर्यसँग पनि जोडिएर आउने मेहँदी लगाउने परम्पराले साउन महिनालाई मेहँदी नै लगाउने महिनाका रुपमा चिनाएको छ। आजभोलि यो फेसन वा देखासिकी रुपमा विकास भए पनि परापूर्वकालदेखि नै आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा मेहँदीलाई हेर्ने गरिएको छ।

    तर अचेल बजारमा शुद्ध मेहँदीभन्दा पनि अशुद्ध र केमिकल मिसाइएको मेहँदीको बढी प्रयोगले त्वचागत रोग उत्पन्न हुने खतरा पनि सँगसँगै बढेको पाइन्छ।

    आयुर्वेदको द्रव्यगुण विज्ञानमा उल्लेख भएअनुसार ‘मेहँदी’ नामक वृक्षको कुल ‘लिथरेसी’ हो। यसको ल्याटिन नाम ‘लौसोनिया इनर्मिस’ हो र संस्कृत नाम ‘मदयन्तिका’ हो। यसलाई अंग्रेजीमा ‘हिन्ना’ पनि भनिन्छ।
    यसको प्रयोज्य अंगहरु भनेका पत्र, पुष्प र बिज हुन्। यसको पत्र भालाकार वा अन्डाकार हुन्छ र पिस्दा रातो रङको हुन्छ। मेहँदीको पत्तिमा टैनिन १०.२१ प्रतिशत तथा लौसोन नामक मुख्य द्रव्य हुन्छ। मेहँदीको गुण- लघु, रुक्ष; रस-तिक्त, कषाय; विपाक-कटु; विर्य-शीत हुन्छ। र यो वृक्ष कफपित्तजन्य रोगका लागि बढी प्रयोग हुन्छ।

    बाह्य प्रयोग अन्तर्गत विशेषतः नारीहरुले वर्ण सुन्दर बनाउन र रंगीन बनाउनका निम्ति यसको प्रयोग गर्छन्। कपाललाई कालो बनाएर जवान देखिनका निम्ति समेत यसको प्रयोग गरिन्छ। शिर:शूल, संधिशोथ तथा हातमा हुने जलनका निम्ति समेत यसको प्रयोग गरिन्छ। यसको प्रयोग वेदना शान्त गर्नका निम्ति, व्रणको शोधन गर्नका निम्ति र रक्तबन्दका निम्ति गरिन्छ। कुष्ठ तथा चर्मविकारमा लाभदायक मेहँदीको क्वाथको प्रयोग मुख रोगमा समेत गरिन्छ।

    आभ्यन्तर प्रयोग अन्तर्गत मेहँदीको पुष्पको फान्ट मस्तिष्क दौर्बल्य र अनिन्द्रामा प्रयोग गर्न सकिन्छ। प्रवाहिका र रक्तातिसारमा मेहँदीको बिजको कल्क प्रयोग गर्न सकिन्छ। रक्तविकार र रक्तपित्तमा मेहँदीको पत्रको क्वाथ प्रयोग गर्न सकिन्छ। ज्वरमा मेहँदीको पुष्पको फान्ट र कुष्ठ आदिमा यसको पत्तिको क्वाथ प्रयोग गर्न सकिन्छ। मूत्रकृच्छ, पूयमेहमा यसको पत्रस्वरस मिश्रीसँग मिलाएर दिन सकिन्छ जसका कारण पिसाब सफा हुन्छ र जलन कम हुन्छ। यसको स्वरसको मात्रा- ५-१०मिमि र बिजचूर्णको मात्रा १-३ ग्राम रहन्छ।

    यसरी मेहँदी वृक्ष साउनमा मेहँदी लगाउनलाई मात्र नभएर अन्य स्वास्थ्यका विभिन्न समस्याका लागि समेत त्यति नै उपयोगी छ। बजारमा पाइने अशुद्ध मेहँदीको प्रयोगबाट बच्नका लागि समेत यसको उपोयगिता जान्नुपर्ने आवश्यकता छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार