७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर २६, २०७७

  • काठमाडौँ, २६ मङ्सिर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो ।

    विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो । तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ । प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो ।

    त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले धेरै कार्यालय खुलेकाले पनि हुनसक्छ सेवाग्राही कम भएका छन् ।” कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ ।

    कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ । विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन ।

    अनुमतिपत्र नवीकरणका लागि दैनिक तीन/चार सय सेवाग्राही आइरहेका छन् । यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उहाँले बताउनुभयो । विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार